देशका विभिन्न क्षेत्रमा मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस


२०८३ साउन २८
काठमाडौं — नृत्य निर्देशक संघ नेपालले आफ्नो ११औँ स्थापना दिवस देशका विभिन्न प्रदेश, जिल्ला तथा स्थानीय समितिमार्फत विविध कार्यक्रम आयोजना गरी मनाएको छ। स्थापना दिवसका अवसरमा विभिन्न स्थानमा दीप प्रज्वलन, रक्तदानलगायतका कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
केन्द्रीय तहमा आयोजित कार्यक्रममा रक्तदानसमेत गरिएको थियो भने संघसँग आबद्ध प्रदेश, जिल्ला तथा नगर समितिहरूले आ–आफ्नो क्षेत्रमा स्थापना दिवसलाई विशेष कार्यक्रमका रूपमा मनाएका थिए। यसक्रममा कोशी प्रदेश, मोरङ जिल्ला तथा सुन्दरहरैँचा र बेलबारी नगर समितिले समेत विभिन्न कार्यक्रम आयोजना गरेका हुन्।
कोशी प्रदेश समितिका अध्यक्ष राजु बस्नेत तथा सदस्य सन्तोष पिठाकोटी मगरको सहभागितामा स्थापना दिवसका कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसैगरी नृत्य निर्देशक संघ नेपाल मोरङ जिल्ला समितिका अध्यक्ष इन्द्रजित मगरको नेतृत्वमा पनि स्थापना दिवस मनाइएको थियो।
सुन्दरहरैँचा नगर समितिले अध्यक्ष शिव श्रेष्ठको नेतृत्वमा कार्यक्रम आयोजना गरेको थियो। समितिमा उपाध्यक्ष विशाल बुढाथोकी र सहसचिव निमेष राजवंशी रहेका छन्। त्यस्तै, बेलबारी नगर समितिले अध्यक्ष ईश्वर राईको नेतृत्वमा स्थापना दिवस मनाएको थियो। समितिमा उपाध्यक्ष सुलभ खतिवडा तथा सदस्य प्रविन विश्वकर्माको सहभागितामा कार्यक्रम भएको थियो।
सुन्दरहरैँचा–१०, खोरसैनीस्थित अक्सिजन फिटनेस नेपालमा आयोजित कार्यक्रममा दीप प्रज्वलनलगायतका गतिविधि गरिएको जनाइएको छ। स्थानीय समितिका पदाधिकारी, नृत्य निर्देशक, कलाकार तथा शुभेच्छुकहरूको सहभागितामा स्थापना दिवस मनाइएको हो।
…
केन्द्रीय तहमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्य तथा ‘नृत्य देव’ भैरवबहादुर थापाको विशेष आतिथ्यमा स्थापना दिवस मनाइएको थियो। सो अवसरमा करिब ३० जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा नृत्य निर्देशक संघ नेपालको ‘डी डान लोगो गीत’ समेत लोकार्पण गरिएको थियो। लोगो गीतका रचनाकार प्रेमसागर कर्माचार्य तथा संगीतकार एवं गायक जीवित जल्मीप्रति संघले विशेष कृतज्ञता व्यक्त गरेको छ।
संघले स्थापना दिवसलाई कला, संस्कृति, सिर्जनशीलता र सामाजिक सेवासँग जोड्दै आगामी दिनमा नृत्य क्षेत्रको विकास, नृत्य निर्देशक तथा कलाकारको हकहित र सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप सक्रिय भएर अघि बढ्ने जनाएको छ।

यसमा तपाइको मत