सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई राहत : लाभकर ३.५ र ५ प्रतिशत
२०८३ भदौ ३१
काठमाडौं । सरकारले सेयर बजार (धितोपत्र विनिमय बजार) मा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभकर (सीजीटी) उल्लेखनीय रूपमा घटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको जानकारी दिए ।
सरकारले उच्च वर्ग र उच्चमध्यम वर्गको हित अनुकुल हुने गरेर अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्राकृतिक व्यक्ति (व्यक्तिगत लगानीकर्ता) का लागि करको दर परिमार्जन गरिएको छ । यसअघि ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेको सेयर बिक्री गर्दा हुने नाफामा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएकोमा त्यसलाई घटाएर ३.५ प्रतिशत कायम गरिएको छ ।
यस्तै, यसअघि ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयर बिक्री गर्दा हुने नाफामा १० प्रतिशत लाभकर लाग्दै आएकोमा त्यसलाई घटाएर ५ प्रतिशतमा झारिएको छ ।
यो व्यवस्था नेपाल धितोपत्र बोर्डमा सूचीकृत भई धितोपत्र विनिमय बजारमार्फत कारोबार गर्ने प्राकृतिक व्यक्तिको हकमा मात्र लागू हुनेछ । सरकारको यस निर्णयले पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउने र सेयर कारोबारमा थप सक्रियता ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
