लाेकगायक खेम सेन्चुरी २ घन्टा साइबर ब्यूरोकाे नियन्त्रणमा, उनकाे गीतविरुद्ध उजुरी

२०८३ असोज १३, काठमाडौं । चर्चित लोकगायक खेम सेन्चुरीलाई साइबर ब्यूरोले बोलाएर सोधपुछ गरेको छ । उनको एउटा गीतका विषयमा ब्यूरोमा उजुरी परेको थियो ।

सेन्चुरीको रचना, स्वर र संगीत रहेको ‘बाहुन बाजे किन कसेको ’ बोलको गीत अहिले निकै चर्चामा छ । करिब एक महिनाअघि युट्यूवमा रिलिज भएको उक्त गीत र भिडिओले बाहुनहरूलाई होच्याएको भनेर हिन्दुवादी अभियन्ता सागर थापाले ब्यूरोमा उजुरी गरेका हुन् ।

उक्त गीतले सनातन हिन्दूको एकता र सद्भाव बिथोल्न खोजेको उनको आरोप छ । गीतमा रहेको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने पंतिमा उनले आपत्ति जनाएका छन् ।

सोही उजुरीबारे सोधपुछ र छलफलका लागि सेन्चुरीलाई बोलाइएको थियो । आज भएको छलफलमा हिन्दु जागरण नेपालका अध्यक्ष पं। रामकृष्ण उपाध्याय, भागवत कथावाचक आचार्य मुकुन्द नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा, ओम सनातन संस्कृति समाजका अध्यक्ष रोजबहादुर मोक्तानलगायत हिन्दुवादी अभियन्ता उपस्थित थिए । आज भएको छलफलमा निष्कर्ष निस्किएको छैन ।

साइबर ब्यूरो स्रोतका अनुसार गीतलाई संशोधन गर्ने वा हटाउने विषयमा थप छलफल गर्न भोली दिउसो १ बजे फेरि दुवै पक्षलाई बोलाइएको छ ।

साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिप गिरीले नेपाल प्रेससँग कुरा गर्दै सेन्चुरीलाई बोलाएर छलफल गरिएको पुष्टि गरेका छन् ।

यसमा तपाइको मत