आजदेखि प्रदर्शनमा ‘कबड्डी ५, चुनौतीमा तीन फिल्म
२०८३कार्तिक ६
काठमाडौँ । साताको नयाँ चलचित्र रिलिज हुने परम्परा ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
आज नयाँ चलचित्रका रूपमा ‘कबड्डी ५’ मात्र प्रदर्शनमा आएको भए पनि यसले देशभरका सबै हल र शो भने एकलौटी रूपमा पाएको छैन । दसैँको अवसरमा रिलिज भई अझै पनि हलमा उल्लेख्य व्यापार गरिरहेका चलचित्र ‘१२ गाउँ २, आमा २, र छ माया छपक्कै २, प्रदर्शनमै रहेका कारण ‘कबड्डी ५’ ले केही चुनौती र हल बाँडफाँटको सामना गर्नुपरेको हो । तर अघिल्ला चारवटै शृङ्खला ब्लकबस्टर भइसकेकाले यस चलचित्रप्रति दर्शकको अपेक्षा र उत्साह निकै उच्च रहेको बताइन्छ ।
चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगाएतका कलाकारको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको यस चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) ले लगानी गरेका छन् भने सागर राज कार्यकारी निर्माता हुन् । सञ्जय लामाको छायाङ्कन, सुरेन्द्र पौडेलको सम्पादन तथा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत रहेको छ । चलचित्रलाई नेपालभर ब्याङ्कटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गरेका छन् ।
