इनम सापकोटा प्रकरण राज्यकाे चरित्रको प्रवृत्तिगत प्रतिबिम्ब भएको नेता श्रेष्ठकाे भनाइ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले इनम सापकोटा प्रकरण एउटा सामान्य घटना मात्र नभएर नेपालको राज्य र सामाजिक चरित्रको प्रतीकात्मक प्रवृत्तिगत प्रतिबिम्ब भएको बताएका छन्।
नेपालको ऐतिहासिक राजनीतिक परिवर्तन लोकतान्त्रिकरणका सन्दर्भमा गुणात्मक फड्को भए पनि राज्यका सबै संयन्त्रहरूको तदनुरूप लोकतान्त्रिक रूपान्तरण हुन नसकेको टिप्पणी उनले गरेका हुन्।
मूलतः सामन्तवादको अन्त्य भए पनि नेपाली पूँजीवादीकरणको प्रक्रियामा राष्ट्रिय पुँजीको सट्टा दलाल पुँजीवादले प्रभुत्वशाली भूमिका ओगटेको उनले उल्लेख गरेका छन्।
भूमण्डलीकृत वित्तीय पुँजीवाद मूल प्रवृत्ति बनेको अहिलेको विश्वमा सामन्तवादको अन्त्य गरी पुँजीवादीकरणको प्रक्रियामा अघि बढेका सबै मुलुक वा समाजका सन्दर्भमा यो सत्य रहेको उनको भनाइ छ।
यसका अतिरिक्त नेपालमा लोकतान्त्रिक क्रान्ति सम्पन्न हुँदा राज्यका प्रमुख अङ्गहरू सेना, न्यायालय र कर्मचारीतन्त्रको ठोस रूपान्तरण हुन नसकेको र राज्यका प्रमुख अङ्गहरू परम्परागत यथास्थिति चरित्रको रहेको उनले जनाएका छन्।
राजनीतिक परिवर्तन र त्यसलाई संस्थागत गरिएको संविधानलाई आधार बनाउँदै परिवर्तनका लागि लड्ने राजनीतिक पार्टीहरू र तिनका सरकारहरूले राष्ट्रिय पुँजीको विकास तथा राज्यको समग्र लोकतान्त्रीकरण प्रक्रियाको नेतृत्व गर्नु आवश्यक रहेको उनले स्पष्ट पारेका छन्।
क्रान्तिकारी तथा लोकतान्त्रिक सङ्घर्षको नेतृत्व गरेका स्थापित राजनीतिक शक्तिहरू र तिनका सरकारहरूले यो मूल कार्यभार पूरा गर्न नसकेको, यसलाई केन्द्रमा राख्न नसकेको र आफूलाई नै त्यसबाट प्रदूषित बनाउन पुगेको उनले बताएका छन्।
यसै पृष्ठभूमिमा राज्य र समाजमा त्यो प्रवृत्ति हाबी भइरहने स्थिति बनेको र त्यसैलाई आधार बनाएर भूराजनीतिक रणनीतिक खेलको अङ्गका रूपमा दक्षिणपन्थी पपुलिस्ट शक्तिहरूको सरकारसहितको वर्तमान राजनीतिक परिस्थिति पैदा भएको उनको विश्लेषण छ।
