घोराही पुस ४ ।
लटरम्म फलेका छन बयरहरु । फलहरु पात भन्दा धेरै देखिन्छन् । फलले झाँटेर हाँगा नुहाई भाँचिने खतरा छ । त्यसैले काठका झाल बनाएर फललाई अडेस लगाईएको छ । यो सबै अवस्था घोराही उपमहानगरपालिका १४ जनचेतना टोलमा रहेको हेमराज बन्जाडेको घरको हो ।
माथि र तल दुईवटा छत छन् । माथिको रेलिङमा हिउँदे सिमी झोत्ता लाएर फलेको छ । प्लाष्टिकका थैलामा माटो भरेर सिमी रोपिएको छ । थैला नचिनीने गरी रंग लगाई चिटिक्क पारिएको छ । सिमी अलि रुखो माटोको जस्तै पँहेलिन लागेको छ । कुन तत्व पुगेन भन्ने यकिन हुन नसकेको बन्जाडेले बताए । घरमा खानको लागि प्रशस्तै छ । फलेन भन्न मिल्दैन ।

लेखक
मुनिको छत फराकिलो छ जहाँ सैयौंको संख्यामा गमलाहरु छन् । बोतल काटेर बनाईएका साना साना देखि अलकत्राका डम काटेका गमलाहरु भेटिन्छन् । त्यसले घरको छत होईन सुन्दर बगैंचाको झल्को दिन्छ । छतमा बसेर वरीपरी नजर डुलाउँदा रंगिन बगैचाको आभाष मिल्छ । त्यो पनि चानचुने होईन, सैयौं थरी फूल फूलेको सुन्दर बगैंचा जस्तो ।
फेन्टाका बोत्तल बिच्चैबाट काटेर फूल रोपिएको छ । पिलरमा गाडिएको फलामको डण्डिमै तिनवटा गमला टंगाईएको छ । फलामका बेन्च र टेबुल राखेर दुई लहर गमलाहरु भित्तामा ठड्याईएको छ । बन्जाडे ईलेक्टोनिक्सका सन्चालक हुन् । पसलमा सामान ल्याएका खोलहरुलाई पनि गमलाको उपमा उपयोग गरिएको छ । फ्रीज तथा अन्य समान बसाल्न बनाईएका खोलमा माटो भरेर खुर्सानी तथा अन्य फलफूल खेती गरिएको छ ।
मलिलो माटो तयारी अवस्थामा राखिएको छ । त्यो माटो कुनैपनि गमलामा उपयोग गर्न सकिन्छ । गल्ने फोहर फाल्नलाई जुन गमलामा हालेनि सजिलो छ । गल्ने फोहरका सानतिना टुक्राहरु सुक्छन्, कुहिन्छन् र मल बन्छन् । अतिथिलाई स्वागतार्थ स्टबेरी र बयर खान दिन्छन् । बयरको भेन्टा गमलामा बसाले भयो । स्टबेरी देख्दै मुख रसाउने गरी फलेको छ । त्यसको त केही फाल्नै पर्दैन । छतमै धारा छ । धोयो खर्लप्पै च्वाम्म मुखभरी रसाएर निल्यो ।
यति नै फलफूलका बोट छन् भन्न सकिन्न । गमला गन्न सकिन्छ तर त्यसमा रहेका फलको नाम भन्न सकिन्न । फरक प्रजातिका विरुवामा कलमी गरेर नयाँ जात उत्पादन गर्ने ध्याउन्नमा बन्जाडे लागेका छन् । विभिन्न बोटमा कलमी गर्ने र फरक ढंगले फलाउने काम भएको छ । एउटै गमलामा भूई फूल र डाले फूल गरी दूईवटा प्रजाति भेटिन्छन् ।
कागतीमै कलमी गरेपछि नयाँ फल कस्तो हुन्छ भन्ने मात्रै हो ।
एक घर दुईगमला अभियान सफल बनाएको जनचेतना टोल हो । कसैको घर अगाडी खाली जमिन छ भने त्यहाँ फूल फुलेको भेटिन्छ । भुई मात्रै होईन घरका छतहरु रंगिन देखिन्छन् । बन्जाडे लगायत अधिकांश घरहरु फूलमय बनेका छन् । एकदुईवटा देखि दर्जनौँ फूल फुलाएका घर छन् । गमला राख्ने ठाउँ नबनाएकाले मरमत गरेर व्यवस्था मिलाउँदैछन् ।
फूलको शहर भन्न लायक जनचेतना टोलले विकास गर्दैछ । फूल नफुलाएको घर कसैको नभएको बन्जाडेले जानकारी दिए । केही वर्ष अघि घोराहीका हरेक प्रहरी बिटमा दुईवटा गमला सहयोग गरेका थिए । तत्कालीन डिएसपी भुवनेश्वर तिवारीले आफ्ना प्रहरीको जाँगर नाप्ने साधनका रुपमा टिप्पनी गरेका थिए ।
फूल जोगाएर होस र जाँगर भएका प्रहरीको उपमा दिने भनाई थियो । बिटमा टंगाएका सबैजसो गमला पानी नपाएर सुकिसकेका छन् । तीनै सुकेका गमला हटाउन वा अर्को फूल रोप्न सकेको देखिन्न । नेपाल उद्योग वाणिज्य महासंघका पाँच नम्बर प्रदेश उपाध्यक्ष समेत रहेका बन्जाडे भने सिंगै बजार फूलै फूलको बनाउन सकिने योजना अघि सार्छन् ।




