राष्ट्रपतिले कृषि फार्मको हेलिकोप्टरबाटै अवलोकन गरिन
राष्ट्रपति भण्डारीले झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडास्थित महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्तीत एकसय बिघा जमिनमा सञ्चालित नमुना कृषि परियोजनाको हेलिकोप्टरबाटै अवलोकन गरेकी छन् ।
उनले त्यहाँ रहेका गहुँ, मकै र कोदो खेती हेलिकोप्टरबाटै नियालेको बताइएको छ ।
राष्ट्रपति भण्डारीले बुधबार दिउसो उक्त परियोजनाको हेलिकप्टरबाटै हवाई अवलोकन गरेकी हुन् । कृषि फार्म ८४ बिघा क्षेत्रफलमा फैलिएको छ ।
फार्मलाई कृषि विश्वविद्यालय बनाउने पहल भइरहेका बेला राष्ट्रपति भण्डारीले अवलोकन गरेकी हुन् ।
कृषि अवलोकन भ्रमणपछि राष्ट्रपति भण्डारीले कृषि फार्म र परियोजनालाई सरकारले सुधार गर्दै कृषकलाई सेवा दिनेमा आफू आशावादी रहेको बताइन् ।
फार्मको अवलोकनपछि चन्द्रडाँगीमा आयोजित औपचारिक कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
संघीय सरकारले हेर्दैआएका कृषि फार्म र परियोजनालाई प्रदेश र स्थानीय तहमा जिम्मा दिन सके अझै राम्रो काम हुने उनको तर्क छ ।
‘देश संघियतामा गएपछि स्थानीय तह, नागरिक र प्रदेशले अधिकार खोज्नु स्वभाविक हो, पहिले केन्द्रीय सरकारले हेर्दै आएका परियोजना र फार्म सञ्चालनको अधिकार स्थानीय तहले माग गर्नु स्वभाविक हो,’ उनले भनिन् ।




