भदौदेखि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चालु हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइएको हो

संकल्प न्यूजडेस्क

काठमाडौ । अन्तराष्ट्रिय स्तरको गौतमबुद्ध विमानस्थलमा भाद्रदेखि उडान सुरुहुनेछ । विमानस्थलको भौतिक निर्माणको काम ७० प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको निर्माण कार्य तिव्रगतिमा अगाडि बढेकाले भदौ सम्म उडान भर्ने गरी काम भइरहेको हो ।

सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम हुन सकेको थिएन ।कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना आज करीब ७० प्रतिशतको हाराहारीमा पुगेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना जानकारी दिएको छ ।

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाईजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइएको हो ।

यसका लागि ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो । आयोजनाका अनुसार बिमानस्थलकोे ६७ प्रतिशत निर्माण सकिएको छ । विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र दुई दिनपछि शुरु हुँदैछ । कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करीब सकिन्छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना लागेको छ ।

यसमा तपाइको मत

अन्य समाचार