काठमाडौं । महाशिवरात्रीमा लट्ठ परर गाँजा खानेहरुले यसपटक अलि सचेत हुनु पर्नेछ । यसपटकको शिवरात्रीमा गाँजा खाएएर तछाँडमछाड गर्नेलाई सरकारले कारवाहीको तयारी गरेको छ । पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा जिल्ला सुरक्षा समिति काठमाडौंले सोमबार परेको महाशिवरात्री मेलामा लागु औषध सेवन गर्नेलाई कारवाही गर्ने निर्णय गरेको हो ।
गाँजा सेवन कानुनी रुपमा समेत बन्देज भएको हुनाले पाशुपत क्षेत्रमा हुँने यस्तो गतिविधि विरुद्ध प्रहरीले कडाइ गर्दैछ ।
‘पशुपति क्षेत्रमा गाँजा बेच्ने र सेवन गर्ने दुबैलाई पक्राउ गरेर कानुन बमोजिम कारवाही गर्छौं’ डीआईजी क्षेत्रीले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय र कानुनले पनि बन्देज गरेको हुनाले प्रहरी गाँजाविरुद्ध कडा रुपमा प्रस्तुत हुन्छ ।’
पाशुपत क्षेत्रमा ‘बाबा’ हरुले यसअघि लुकाई छिपाइ गाँजा बेचबिखन र सेवन गर्दै आएका थिए । प्रहरीले यसपटक गाँजा बेच्ने र सेवन गर्ने बाबाहरुलाई पनि निगरानीमा राखेर गाँजाको कारोबार पूर्णरुपमा नियन्त्रण गर्ने भएको छ ।
सोमबार पशुपति मन्दिरमा आयोजना गरिने महाशिवरात्री पर्वको सुरक्षालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीले महाशिवरात्री पर्वको सुरक्षाका लागि पशुपती क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा पाँच हजार स्वयंसेवक खटाउने जनाएको छ । त्यस्तै सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा १ हजार ३ सय सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । ‘हाम्रो तर्फबाट १ हजार ३ सय सुरक्षाकर्मी खटिन्छन्’ सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) सुरज श्रेष्ठले भने, ‘पशुपति क्षेत्रमा खटिने हाम्रो सुरक्षकर्मीको कमाण्ड सशस्त्र प्रहरी उपरीक्षकले गर्नुहुन्छ ।’ सोमबार पशुपतिनाथमा देश–विदेशबाट करिब १० लाख भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको छ । आइतबार बिहानसम्म पशुपतिमा ८ हजारभन्दा बढी साधु सन्त आइपुगेका छन् ।
शिवरात्रीमा हुने भीडभाडलाई मध्यनजर राख्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानदेखि गाडी चल्न रोक लगाएको छ । चावहिलबाट गौशालातर्फको सडक, पुरानो बानेश्वर–गौशाला, तिलगंगाबाट गौशालतर्फ, सिफलचौरबाट जयबागेश्वरीतर्फ लगायतका १० स्थानका रुटमा सवारी निषेध गरिएको ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) बसन्त पन्तले जानकारी दिए । ‘सवारी निषेध गरिएका रुटमा बिहान गाडी चल्न पाउँछन्, एसएसपी पन्तले भने, ‘दर्शनार्थीको चाप बढ्दै गएपछि १० वटा रुपमा गाडी बन्द गर्ने गरी सवारी ब्यवस्थापन मिलाएका छौं ।’ पशुपति क्षेत्रको ट्राफिक ब्यवस्थापन मिलाउनका लागि ५ सय ८२ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा परिचालित हुने ट्राफिक महाशाखाले जनाएको छ ।




