आज असार १५ । नेपाल कृषिप्रधान मुलुक भएकोले नेपाली कृषकहरूका लागि खुशियालीको दिन हो । रमाइलो र रोपाईंको महत्वका हिसावले कृषकहरू असार १५ को प्रतीक्षा गर्दछन । त्यस दिन खेतमा विशेष रमाइलो गरी हिलो खेलेर धान रोप्ने गरिन्छ । मौसमको अनुकूलता हेरेर किसानहरूले धान त असार १५ भन्दा पहिले र पछि पनि रोप्छन तर त्यस दिन रोप्नुको महत्व नै अर्कै हुन्छ ।
असार १५ रमाइलो दिन मात्र होइन, महत्वपूर्ण दिन पनि हो । त्यस दिन माना रोपेर मुरी फलाउने उक्ति नै प्रचलित छ । धानको उत्पादनले नेपाली कृषकहरूको जीवनमा मात्र होइन, समुग्र राष्ट्रको जीवनमा पनि प्रभाव पार्दछ । धानको उत्पादन राम्रो भएमा त्यसले हाम्रो आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्दछ । तर खेति गर्ने जमीन र रोपने खेत नभएका भूमिहीन सुकुमबासीहरुका लागि भने आसर १५ को के महत्व ?
हुनेको हुन्छ भनेझैं किसानहरुको खेत हुने भएकोले लामो समयको अभ्यास गर्दैजाँदा असार १५ लगायतका चाडहरुको उत्पति भए । तर जसको नाममा एकटुक्रा जमीन नभएर सुकुमबासीको उपनाम पाएर जसले नर्कको जीवन बिताउन बाध्य छन उनीहरुको लागि त असार १५ को के महत्व ?
यो त भयो सुकुम्बासीहरुको एउटा प्रसंग । असार १५ पहिले कृषकको लागि मात्र महत्वपूर्ण दिन थियो भने अहिले यो दिनको महत्व व्यापक भएको छ । गीत गाउनेहरू पनि असारमा रमाउँछन् । असारे गीतको भाका भन्नासाथ लोभिनेहरू धेरै छन । जनकवि केशरी धर्मराज थापाले ” हो हो माले हो हो ” भन्ने गीत गाए पछि यसको महत्व अरु बढेको छ ।
पर्यटन क्षेत्रमा लागेकाहरूले पनि असार १५ को महत्व बढाएका छन् । पहिले असार १५ मा कृषकहरू मात्र हिलो खेल्थे र धान रोप्थे भने अहिले पर्यटन व्यवसायीहरू पनि खेतमा झरेका छन् । हिलो खेल्ने गरेका छन् । पर्यटन व्यवसायीहरू मात्र होइनन उनीहरूले विदेशी पर्यटकहरूलाई समेत हिलो खेल्न लगाएका छन् ।

त्यस्तै पर्यटन उद्योगसँग सम्बन्धित संघसंस्थाहरूले हिलो खेतमा विभिन्न खेलको प्रतियोगिता र प्रतिस्पर्धा गरेर यसमा नया आयाम थपेका छन् । ती प्रतियोगिताले असार १५ को महत्व अरु वृद्धि भएको छ । शहरका सुकिला मुकिलाहरूदेखि राजनीतिक नेताहरू पनि हिलो खेतमा देखिन थालेका छन् ।
त्यस्तै असार १५ को हिजो सांस्कृतिक महत्व थियो भने अहिले त्यसको आर्थिक महत्व पनि भएको छ । पर्यटकहरूलाई हिलो खेतमा लैजानमा पोखराका पर्यटन व्यवसायीहरूले सिर्जनात्मक भूमिका खेलेका छन् । अहिले अरु ठाउँहरूमा पनि पोखरेली व्यवसायीहरूले गरेझैं विदेशी पर्यटकहरूलाई खेतमा लैजान थालेका छन् ।
यता असार १५ मनाउने तौरतरिकामा धेरै परिवर्तन आएको छ । हिजो दही–चिउरा खाएर दिनभरि खेतमा काम गर्दथे भने अहिले केही ठाउँमा होटलको परिकार पस्कने गरिएको छ । २,३ घण्टा रमाइलो गरी जानेहरूको संख्या बढ्दै छ । गीतको भाका पनि फेरिन थालेको छ । परिवर्तन त आयो, नयाँ किसिमले रमाइलो पनि भयो तर यसको मौलिकता कतै लोप होला कि भन्ने आशंका उत्पन्न भएको छ । त्यसकारण हामीले परम्परागतरुपमा रहेका चाडहरुलाई केही सकारात्मक कुरा बाहेक अरुकुराहरुमा परिवर्न गर्नहुँदैन । किनकी त्यसको परम्परमगत मौलिकता हराउने खतरा हुन्छ ।
aadarsha.com को सहयोगमा




