भैंसीलाई सुत्केरी भत्ता

पत्रपत्रिकाबाट

बैतडीको मेलौली नगरपालिकाले भैंसीलाई सुत्केरी भत्ता दिने भएको छ । भत्ताको लागि प्रतिभैंसी २ हजार रुपैयाँ दिन नगरपालिकाले आगामी आव ०७६,७७ मा बजेट विनियोजन गरेको छ ।

नगरप्रमुख कृष्णसिंह नायकले गाउँघरमा भैंसी लोप हुन लागेपछि किसानलाई प्रोत्साहित गर्न सुत्केरी भत्ता व्यवस्था गरिएको बताए । नगरपालिकाको यो कार्यक्रमबाट किसानहरू उत्साही छन । ‘नगरपालिकाले भत्ता दिने भएपछि भैंसीपालन सजिलो हुने भयो,’ मेलौलीकी जानकी पार्कीले भनिन ।

मेलौलीजस्तै जिल्लाका स्थानीय तहले लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याएका छन । बजेट ल्याएका स्थानीय तहहरूले सडक, शिक्षा, स्वास्थ्य, कृषिलाई जोड दिएका छन । महिला, बालबालिका, असहाय, एकल, ज्येष्ठ नागरिक, अपांगता भएकाहरूलाई पनि उनीहरूले प्राथमिकतामा राखेका छन ।

मेलौलीले दिँदै आएको विदुर भत्तामा ५ सय थप गर्ने भएको छ । नगरपालिकाबाट तलबभत्ता पाउने कर्मचारीले प्रत्येक महिना १०५ रुपैयाँ आफ्ना आमाबुवाको खातामा जम्मा गर्ने कार्यक्रम पनि ल्याइएको छ । दोगडाकेदार गाउँपालिकाले पशु र कृषि बिमा गर्ने किसानहरूलाई ३० प्रतिशत अनुदान दिने कार्यक्रम ल्याएको छ । गर्भवती र सुत्केरीलाई अन्डा, घिउजस्ता पोषिलो खानेकुरा उपहारस्वरूप प्रदान गर्ने कार्यक्रम पनि बजेटमा ल्याइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार