काठमाण्डौ /
अखिल क्रान्तिकारी CTEVT उपत्यका जिल्ला र पोखरा बिस्वबिद्यालय क्षेत्रीय समन्वय समितिको संयुक्त आयोजनामा केन्द्रिय रक्त संकलन केन्द्र कालिमाटी, सोल्टीमोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कोरोना भाइरस (कोभिड १९) ले गर्दा देशै भरी भैरहेको रगत अभावलाई मध्यनजर गर्दै सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको केन्द्रीय नीति अनुरुप मध्य केन्द्रिय कमान्ड अन्तर्गत CTEVT उपत्यका जिल्ला समिति र पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समिति को संयुक्त पहलमा करिब पचास जना विद्यार्थीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उक्त संगठनका केन्द्रिय समितिका उपाध्यक्ष तथा मध्य केन्द्रिय कमान्ड इन्चार्ज रुद्र भट्टराई , केन्द्रिय सदस्य तथा पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय समिती संयोजक ललित बिक, CTEVT उपत्यका जिल्ला संयोजक डि बि चन्द लगायत विभिन्न तहका विद्यार्थी नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको अध्यक्षता कमरेड नवराज भट्टले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि रुद्र भट्टराई ले सर्वप्रथम रक्तदान गरि कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा २७ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी CTEVT उपत्यका जिल्लाले बताएको छ । अन्तमा प्रमुख अतिथि रुद्र भट्टराईले कोरोना माहामारी जस्तो विषम परिस्थितिमा रक्तदान गर्नुहुने सम्पुर्ण रक्तदातालाई धन्यवाद सहित प्रशंसा-पत्र हस्तान्तरण गरि कार्यक्रम समापन भएको थियो।




