हेमन्त वली श्रावण ५, दाङ ।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले जिल्लाको लमही नगरपालिका वडा नं ३ जखेरा टिकुलीगढ सुकुम्बासी वस्तीमा बसोबास गर्ने रुकमान चौधरीको घर निर्माण कार्यको शिलान्यास गरेको छ ।
वस्तीमा बस्ने रुकमान चौधरी बसिरहेको तत्कालको घर अत्यन्त जिर्ण अवस्थामा पुगेको भन्दै नयाँ घर निर्माण गर्न लागिएको नेकपा दाङले जनाएको छ ।
घर निर्माण शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला विशेष समिति सदस्य विक्रमले समाजलाई सामूहिक चेतनाको विकास गर्दै वैज्ञानिक समाजवादी मोडेल अनुसार पार्टीले जनताका घरटहरा निर्माण गर्ने अभियानमा लागेको बताए ।

वैज्ञानिक समाजवादी राज्य व्यवस्था जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी गर्ने व्यवस्था भएको उनको भनाई थियो । नेता विक्रमले संसदीय व्यवस्थाको चुनावमा भाग लिन्छन् भन्ने भ्रम मात्रै भएको जिकिर गरे ।
उनले भने,‘हामी जनमत संग्रहको व्यवस्था चुन्ने निर्वाचनमा भाग लिन्छौ,संसदीय व्यवस्थाको व्यक्ति र पार्टी चुन्ने चुनाव होइन’ । उनले संसदीय व्यवस्था भनेको शासकहरुले जनतामाथि शोषण, दमन, लुटपाट गर्ने साधन भएको धारणा राखे ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले आफूहरु नयाँ ढंगले एकीकृत जनक्रान्तिको कार्यदिशालाई अवलम्बन गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा दृढ रहेको धारणा व्यक्त गरे । उनले आफूहरुले संचालन गरेको क्रान्तिबाट अत्तालिएर दलाल सरकारले प्रतिबन्ध लगाएको ठोकुवा गरे ।

एक फरक प्रसंगमा सेक्रेटरी प्रदिपले आफूहरु प्रचण्डले जस्तो झुक्याएर राजनीति नगर्ने बताए । उनले भने,‘हामी इमानदारी पूर्वक वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा छौं, जनमत संग्रहको एजेण्डा लिएर तपाईहरुसँग छलफल गर्दैछौं ।’ उनले सुकुम्बासी वस्तीमा बसोबास गर्ने जनताहरु र आफ्नो पार्टीबिच नङ र मासुको सम्बन्ध भएको बताउँदै कसैले यो वस्ती हटाएर जनतालाइ बिचल्लीमा पार्ने दुष्साहस नगर्न चेतावनी पनि दिए ।

घरको शिलान्यास निर्माण स्थलमा इट्टा राखेर कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा दाङ जिल्ला विशेष समिति सदस्य विक्रमले गरेका थिए । कार्यक्रममा नेकपा दाङ जिल्ला सदस्य डिल्ली, एकराज, नेकपा दाङ जिल्ला सल्लाहकार समितिका सदस्य सौनी र मधुसुदनको आतिथ्यता रहेको थियो ।




