शिक्षा क्षेत्रका विकृति र मेडिकल माफिया विरुद्ध क्रान्तिकारीको प्रदर्शन

हेमन्त वली, साउन १६ ।
घोराही । नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले शिक्षा अझैपनि श्रमजीवी जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन् ।

सो संगठनले शुक्रवार घोराहीमा आयोजना गरेको स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा क्षेत्रमा भइरहेको विकृति विरुद्धको प्रदर्शन कार्यक्रममा उक्त कुरा बताएका हुन् । विद्यार्थी नेता अनिलले सिटिइभिटीका कार्यक्रमहरुमा अझै पनि ठूलो विभेद रहेको, समयमै पाठ्यक्रम नसकिने समस्या प्रयोगात्मक कक्षा व्यवस्थित रुपमा नभएको र चर्को शुल्क असुली गर्ने माध्यम बनाइएकोप्रति कडा आपत्ति जनाएका थिए ।

राज्यले न्यून आयस्रोत भएका विद्यार्थीलाई पनि प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने नेता अनिलको भनाइ थियो । राज्यले टीएसएस अन्तर्गत स्वास्थ्यतिरका कार्यक्रम अध्ययन गरेका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको साथै निजि शैक्षिक क्षेत्रमा स्वास्थ्य तिरका कार्यक्रमहरुको शुल्क महंगो भएकाले तल्लो वर्गका विद्यार्थी पढ्नबाट बञ्चित भइरहेकोले राज्यले शुल्क परिमार्जन गरी आम नागरिकको पहुँचमा हुने वातावरण तयार बनाउनुपर्ने बताए ।

उनले मेडिकल शिक्षामा पनि थुप्रै विकृति विसंगति मौलाइरहेको, राज्यको गैरजिम्मेवारीका कारण मेडिकल माफियाको अगाडि राज्य निरीह बनेको जिकिर गरे । उनले भने,‘मेडिकल क्षेत्रका विद्यार्थी माथी मेडिकल माफियाहरुले सरकारको मिलोमतोमा आर्थिक लुट मच्चाइरहेका छन् र जनतालाई मानसिक यातना दिइरहेका छन् ।’

दलाल र भ्रष्ट पुँजीवादी राज्य व्यवस्थाको सरकारले यी तमाम समस्याहरू हल गर्न नसक्ने भन्दै यो व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न सबै उत्पीडित युवा विद्यार्थी एक भएर लाग्नु पर्ने आवस्यकता रहेको उनको भनाइ थियो ।

उनले वैज्ञानिक समाजवादी राज्य व्यवस्थाबाट तमाम समस्याहरु समाधान गर्न सकिने र विद्यार्थीको हरेक क्षेत्रमा हक हित र अधिकार सुनिश्चित हुने बताए ।

प्रदर्शन कार्यक्रमको सहजीकरण अनेरास्ववियु (क्रान्तिकारी) दाङका अध्यक्ष अमरले गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार