कम्युनिस्ट नेताको राजसी शैली

केहि जब्बर कारणहरु छन्, जसले सिंगो माओवादी आन्दोलन नै बद्नाम र उसले गर्न खोजेका छन् र समाज विकासका प्रयासहरुमा स्खलन पैदा भइरहेको छ । पहिलो कुरा त माओवादी दर्शनलाई आत्मसाथ गरी राज्य संचालनको विधिको कुरा गर्ने हो भने, वर्तमान राज्य ब्यवस्था माओबादी दर्शनसँग मेल खाँदैन ।

यो ब्यवस्थामा रहेर १० वपर्षे अत्यन्तै ठूलो वर्ग संघर्ष र त्यहाँ भएको त्याग, तपस्या र बलिदानबाट प्राप्त सफलतालाई रक्षा गर्न प्रायः असम्भव नै देखिन्छ । अहिलेको संसदीय ब्यवस्थालाई उपयोग गर्दै अर्को उत्कर्षमा फड्को मार्नु अत्यन्तै जरुरी थियो ।

माओवादी जनयुद्ध र त्यसले प्राप्त गरेको पहिलो संविधानसभाको चुनाव र त्यस चुनाबबाट प्राप्त गरेका जनताको चाहना । जनताको चाहनालाई संबोधन गर्नको लागि अभ्यासरत नयाँ ब्यवस्थामा नयाँ माओवादी पार्टी लगभग असफल जस्तै भयो । जसको परिणाम दोस्रो चुनावमा धेरै कम मतमा खुम्चन पुग्यो ।

त्यस पछि पार्टी भित्र हुनु पर्ने गम्भीर समिक्षालाई लत्याएर अंक गणितीय राजनीति मै रमाउनु मुख्य कमजोरी थियो । पार्टीले जनताको चाहना, आवश्यकता, बाध्यताको सुक्ष्म अध्ययन अनुसन्धान गर्नु भन्दा कापीको पाना बोकेर भोटर लिस्ट तयार गर्ने र जान अन्जानमा जनतालाई गलत सन्देश र गलत आस्वासन दिने होडबाजीमा लाग्नु पनि गम्भीर कमजोरी थियो र हो ।

यसो गर्नु पनि संसदीय ब्यवस्थाको खराब बाध्यता या शैली थियोे । एउटा सामन्तवादी राज्य ब्यवस्थालाई हटाएर गणतन्त्रात्मक राज्य ब्यवस्था स्थापना पछि यो उपलब्धिलाई पार्टीले अन्तिम विजयको रुपमा उपयोग गर्न थाल्नु या नेता, कार्यकर्ता समेत यो विषयमा भ्रमित रहनुले पार्टी टुटफुट जस्तो भयंकर ठूलो क्षति बाट गुज्रनु पर्यो ।

यो भ्रमबाट यो ब्यवस्था उपयोग गर्ने एउटा माओवादी तप्का अझै मुक्त भएको देखिँदैन । अहिलेको राजनैतिक संस्कारमा कार्यकर्ता बाट नेता र नेताबाट अझ ठूलो नेता बन्ने होडले गर्दा थुप्रै विकृतिहरु पैदा भएका छन् ।

नेताले सकारात्मक आलोचना र सुझावलाई स्विकार्न नसक्नु, तल्ला कमिटीका नेताले माथिल्ला कमिटीका नेतालाई चकडी चाप्लुसी गर्ने र त्यसमा आँखा चिम्लेर मख्ख पर्ने बानी मौलाउँदै गएको छ । गर्दा गर्दा नेताको नजिक पर्ने या आफन्तको नजिक पर्ने जनताले समेत नेतालाई चाकडी गर्नुपर्ने रहेछ भन्ने कुरा सिक्न थाले । जस्का प्रत्यक्ष प्रमाण हुन्, नेताको आँखा छोप्ने गरी अबिर माला पहिराई दिनु ।

यो पनि एउटा क्रान्तिकारी पार्टीमा नसुहाउने संस्कृति हो । जो गर्ने नहुने र सुहाउँदै नसुहाउने कुरा हो ।
पार्टीले वर्तमान राज्य ब्यवस्थालाई उपयोग गर्दै गर्दा चुनाबी टिकटमा हुने ब्यथिति विसंगतिलाई सम्हाल्नै नसक्ने गरी भ्रष्टिकरण गरिएको छ ।

जनताका प्रतिनिधि बन्नको लागि लाखौं, करोडौंको चलखेल गर्नु पर्ने परिपाटीले पार्टीलाई शुद्ध क्रान्तिकारी पार्टी बनाउन प्रायः असम्भव जस्तै भएको छ । जनप्रतिनिधि चुनावमा हुने आर्थिक चलखेलले हुनेले पैसाको बलमा नहुनेले भ्रामक आश्वासनको बलमा चुनाव लड्ने र जित्ने होडबाजी गरिन्छ । हारे त हारीगयो, जित्नेले चुनाव खर्च उठाउने र नाफा कमाउने घ्याउन्न शुरु हुन्छ ।

पैसा र गलत आश्वासनले विजय भएका प्रतिनिधिबाट क्रान्तिको आशा गर्नु फगत दिवा सपना जस्तै भएको छ । जसले गर्दा गलत आश्वासनलाई जनताले बुझिसकेका छन् र पैसाको बलमा जित्नेहरुको पछाडि जनताले समेत बार्गेनिङ गर्ने चलनको शुरुवात भएको छ । यसले जनतामा अर्को अराजकता पैदा भएको छ ।

आजको ब्यवस्थामा पार्टीभित्र तल्लो कमिटीले माथिल्लो कमिटीलाई सही शन्देस सम्प्रेषण नहुनुले मुख्य लिडरहरुलाई गुमराहमा पार्ने काम भइरहेको देखिन्छ । सधै सकारात्मक र सफलताका बयान सुनेका कानले माथि भने झैं कहिलेकाहिँका रचनात्मक सुझाव या आलोचनामा आग्रह या पूर्वाग्रह राख्ने नेताहरुको स्वभावदेखि जनता, कार्यकर्ता डराउनु पर्ने अवस्था छ ।

जसले पार्टीलाई ठूलो क्षति पुर्याइरहेको छ । यसले क्रान्तिकारी पार्टी निर्माणमा निकै बाधा खडा गरेको छ । आफ्नो आधारभूत वर्गलाई असल मित्रको रुपमा सम्मान नगरी खेलौनाको रुपमा ब्यवहार गर्दै जाने हो भने हाम्रो मित्र वर्गमा पार्टीप्रति अपनत्व जगाउन निकै गाह्रो पर्ने देखिन्छ ।

जनवादी कलाकार मोहित श्रेष्ठले सामाजिक सञ्जालमा राखेको यो सामग्रीको शिर्षक हामीले दिएका हौं : सम्पादक ।

 

यसमा तपाइको मत

अन्य समाचार