प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति पुन निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनबाट उनी सभापति पदमा उनी पुन निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्दी कोइराला परिवारका डा. शेखर कोइराला उनीसित पराजित भएका छन् । खसेको कुल ४६२३ मतमध्ये देउवाले २७३३ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिष्पर्धी कोइरालाले १८५५ मत पाए । यसरी ८७८ मतले देउवा विजयी भएका छन् । आजको अंकमा हामीले दोस्रोचोटी सभापति पदमा विजयी देउवाका बारेमा हाम्रा पाठकहरुका लागि जानकारी दिने प्रयास गरिहेका छौं ।
को हुन् देउवा ?
शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । नेपाली कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापति बनेका थिए । कांग्रेसको एकीकरणपछि उनी आफ्नो पार्टीसँगै नेपाली कांग्रेसमा गाभिए । शेरबहादुर देउवाले हालपनि डडेलधुरा जिल्ला क्षेत्र नं १ र कञ्चनपुर क्षेत्र नं ४ बाट संविधानसभामा प्रतिनिधित्व गरिरहेका छन् । वि.सं २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरुमा डडेलधुरा १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी संहालिसकेका छन् ।
उनी माओवादी समस्या समाधानका लागि गठित उल्चस्तरीय समितिका अध्यक्ष पनि भइसकेका छन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेवि संघका प्रथम सभापति थिए । राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेल जीवन बिताएका छन् । देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ सालम असक्षमको आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्षपछि वि.सं २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए ।
पार्टीको आन्तरिक द्वन्दमा देउवाले आफ्नो नेतृत्वमा वि.सं २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को गठन गरेका थिए भने वि.सं २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए । प्रजातन्त्रप्रतिको लगावको कारण जनताले आफूलाई सधैं विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउँछन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा एमए गरेका उनी देउवा सोही विषयमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । राणा पविारकी आरजु राणासित देउवाको विहे भएको छ भने उनीहरुका १ छोरा रहेका छन् ।
डडेल्धुराको पश्य गर्खा क्षेत्रमा एक सम्पन्न परिवारको रुपमा रहेको देउवाको परिवारलाई डडेल्धुरामा ठकुरी देउवा परिवार भनेर चिन्दछन् । डोटी पचनाली, लुलानी मल्ल, डोटी बोगटानी बम र बोगटी रजवारसँग मात्र वैवाहिक सम्बन्ध गर्ने यो परिवार सम्पन्न र जागिरदार परिवारको रुपमा चिनिंदै आएको परिवार हो । डोटी राज्यकालमा डडेल्धुराको पश्य गर्खा क्षेत्र यिनैको अधिनमा थियो । चन्द्रवंशी, कश्यप गोत्रीय यी देउवाको कुलको देवता बडालको गन्याप लाटो (गणेश) र अशिग्राम केदार हो ।
जानकारी भए अनुसार डोटी राज्यकालमा चर्चित बनेका कुसलसिंह देउवा रजवारका दुई पुत्र जेठा गोमनसिंह देउवा रजवार र कान्छा बहादुरसिंह देउवा रजवार हुन् । जेठा गोमन सिंह देउवा रजवारका एक पुत्र उदैसिंह देउवा रजवार भए उदैसिंह देउवा रजवारका एक पुत्र प्रसादसिंह देउवा रजवार हुन् । प्रसादसिंह देउवा रजवारका दुई श्रीमती (डडेल्धुरा गणेशपुर मैरोडका मल्लकुलकी छोरी धनादेवी (मल्ल) देउवा र डोटी बोगटानका बम कुलकी छोरी द्रोपती (बम) देउवा)बाट ३,३ छोराहरु गरेर ६ छोराहरु क्रमशः शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवाको जन्म भयो ।
यी ६ भाई मध्ये जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल बन्न पुगे । शेरबहादुर देउवाका एक पुत्र जयबिर देउवा छन् । शेरबहादुरका भतिजा शिवबहादुर देउवा नेपाली सेनामा वरिष्ठ क्याप्टेन हुँदै मेजरको रुपमा लोकप्रिय अधिकृत भएर सेवा दिरहेका छन् । माईला लोकबहादुर देउवाका पुत्र भानबहादुर देउवा (भानु देउवा) शेरबहादुर देउवाका स्वकीय सचिव छन् । शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री र एउटा ठूलो राजनीतिक पार्टीको प्रमुख बन्न सफल भएर आफ्नो पुर्खाको वीरताले भरिएको, वीरगाथा, चैत गीत धमारीमा समेटिएको देउवा कुलकै गौरव र इतिहास बचाउन पनि सफल बने भन्ने मान्यता जानकारहरु राख्दछन् । देउवाहरु डडेल्धुराको रुवाखोला, कुमाउ बंडालु, पिथौरागढ, सोर, चंदेनी र डोटी गड्सेरा देउवान क्षेत्रमा गरी झण्डै ५०० परिवारको संख्यामा (कुमाउ क्षेत्रमा २००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०० मा) फैलिएर रहेका छन् । कुमाउमा भारतीय सेनाका अधिकृत, डाक्टर, इन्जिनियर छन् ।
देउवाको युवावस्था
एउटा विकट स्थानमा जन्मेर पनि शेरबहादुर देउवाले आफ्नो जीवन गरिव, पिछडिएको समाज, जाति, वर्ग, देशको निम्ति समर्पण गरे । डडेल्धुरा जिल्ला अशिग्राम गाउँ विकास समितिको रुवाखोला जस्तो विकट स्थानमा जन्मेका शेरबहादुर काठमाडौं अध्ययन गर्ने सिलसिलामा प्रजातन्त्रको निम्ति संघर्ष गर्दा तत्कालीन पंचायती राज्यको शिकार भएका थिए । उनले आफ्नो युवा अवस्था प्रवासमै बिताउनु पर्यो । युवा अवस्थाको अन्तिम जवानीमा नेपाल फर्केका देउवाको लागि नेपाली कांग्रेसको राजनीति सफल बन्यो । उनी देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भए । यही राजनीतिले गर्दा पढेलेखेकी जीवन संगिनीसँग उनको लगन गाँठो जोडियो ।
राजनीतिक जीवन
देउवा कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि. सं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि.सं २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतिमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी वि. सं २०६४ र वि.सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।
प्रतिपक्षी दलका नेता
२०५१ मा गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरि मध्यावधि निर्वाचन घोषणा गरे । सो निर्वाचनमा नेपाली कांग्रेस दोस्रो पार्टी भएपछि शेरबहादुर देउवा संसदीय दलको नेता भए । कुनै पार्टीको स्पष्ट बहुमत नआए पछि २०५१ मंसिर १४ मा सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट संसदको सबैभन्दा ठूलो दलको हैसियतले मनमोहन अधिकारीले अल्पमतको सरकारको नेतृत्व गरे । २०५२ जेठ ३० मा प्रधानमन्त्री अधिकारीले राजा वीरेन्द्र समक्ष २०५२ मंसिर ७ मा प्रतिनिधि सभाको निर्वाचन मिति तोकेर संसद विघटनको प्रस्ताव गरे । अघिकारीले सरकारलाई काम गर्न नदिइएकाले सार्वभौम सत्ता सम्पन जनतामा जानुपर्ने राजनैतिक आवश्यकता रहेको तर्क दिएका थिए । प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन भयो । यो कदम विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । २०५२ भाद्र १२ मा अदालतले सरकारको निर्णय उल्ट्यायो । त्यसपछि २०५२ भाद्र २५ मा अघिकारीले राजीनामा दिए ।
पहिलो प्रधानमन्त्रीकाल
२०५२ भदौ २६ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा देउवा पहिलो पटक प्रधानमन्त्री भएका थिए । सो पार्टीले समर्थन फिर्ता गरेपछि २०५३ फागुन २६ मा देउवा प्रधानमन्त्री पदबाट हटेका थिए । त्यसपछि एमालेको साथ लिएर लोकेन्द्रबहादुर चन्दले सरकार बनाए ।
उनको पहिलो कार्यकाल पजेरो काण्ड, सुरासुन्दरी कान्ड, सांसदलाई बैंकक पुर्याएको जस्ता घटनाले बदनाम भएको थियो । नेपाल र भारत बीचको महाकाली सन्धी उनकै कार्यकालमा भएको थियो । यो सन्धी संसदबाट पास गर्ने सन्दर्भमा प्रतिपक्षी नेकपा एमालेमा विभाजन आयो ।
दोस्रो प्रधानमन्त्री काल
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजालाई थाहा नै नदिई माओवादी विरुद्ध सेना परिचालन गरेका थिए । प्रधानसेनापतिले सो कुरा राजामा जाहेर गरे । त्यो कुरा थाहा पाएर राजा ज्ञानेन्द्र गिरिजाप्रसाद कोइरालासँग आक्रोशित भए र गिरिजाको राजिनामा माग गरे । कोइरालाको राजीनामा पछि २०५८ साउन ७ मा शेरबहादुर देउवा प्रधानमन्त्री भए ।
उनको प्रधानमन्त्रीकालमा सङ्कटकाल घोषणा भयो र माओवादी विरुद्ध सेना परिचालन भयो ।
संकटकाल
२०५८ मंसिर ८ माओवादीले सेनामाथि पहिलो हमला गरे । दाङको घोराही माओवादी छापामारले सेना, प्रहरी र निजामती अड्डाहरुमा एकसाथ आक्रमण गरे । त्यसक्रममा मेजर नरेश उप्रेती सहित १४ सैनिक, सात प्रहरी र सात माओवादी मारिए । झण्डै २२५ आधुनिक हातहतियार, पचासौं हजार गोली, ८० क्विन्टल जिलेटिन सहित १२ गाडी सामान कब्जा गर्न माओवादी सफल भए । त्यसै रात माओवादीले स्याङ्जामा र तीन दिनपछि सोलुखुम्बुमा हमला गरे ।
सेनामाथि हात हालेपछि विद्रोहीलाई सरकारले आतङ्ककारी घोषित गर्दै देशव्यापी सङ्कटकाल लगायो र फौजी कारबाही शरुु गर्यो ।
संसद विघटन
संसदले सङ्कटकाल नलम्बाउने र देउवा माथि अविस्वास प्रस्ताव ल्याउने तयारी गर्दै गर्दा उनले राजा ज्ञानेन्द्र समक्ष २०५९ जेठ ८ संसद विघटन गर्न सिफारिस गरे ।
पार्टी विभाजन
राजा समक्ष संसद विघटन सिफारिस गरेपछि नेपाली कांग्रेसले देउवालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गर्यो । गिरिजाप्रसाद कोइराला पार्टी सभापति थिए । कोइरालाले पार्टीको निर्णयविपरीत संसद विघटन गरेको भन्दै देउवालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिदिए । नेपाली काङ्ग्रेस भित्रको आन्तरिक द्वन्द्वकाक्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं २०५९ सालमा नेपाली कांग्रेस (प्रजातान्त्रिक)को गठन गरे । वि.सं २०६४ सालमा सो पार्टीको नेपाली कांग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए ।
तेस्रो प्रधानमन्त्रीकाल
देव २०६१ जेठ २१ मा तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । त्यतिबेला देउवाले ‘गोर्खाली राजाबाट न्याय पाएँ’ भनेर खुसी व्यक्त गरेका थिए । उनीमाथि चुनाव गराउने जिम्मेवारी थियो । नेकपा एमाले पनि त्यति बेला प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सामेल भएको थियो ।
बर्खास्त
देशमा भइरहेको सशस्त्र द्वन्द्वका कारण चुनाव हुन सकेन र राजा ज्ञानेन्द्रले देउवालाई चुनाव गर्न असक्षम भन्दै १९ माघ २०६१ मा बर्खास्त गरे ।
चौथो प्रधानमन्त्रीकाल
वि.सं २०७४ जेष्ठ २४ बुधवार शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भए । देउवाको उम्मेदवारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, नेपाल र अन्य दलले समर्थन गरेका थिए भने सबैभन्दा ठूलो सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र थियो । सपथ ग्रहण पछि देउवाले सहयोगी दलहरुको साथमा नयाँ सरकार गठन गरे । वि.सं २०७४ असोज ३१, प्रतिनिधिसभा निर्वाचन, २०७४ को अगाडि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टी एमालेसँग सहकार्य गर्ने निर्णय गर्यो । त्यसपछि प्रधानमन्त्री देउवाले सो दलका सबै मन्त्रीहरुलाई जिम्मेवारी बिहीन बनाए ।
प्रतिपक्षी दलका नेता
केपी ओलीको दोस्रो र तेस्रो मन्त्रिमण्डलमा देउवा प्रतिपक्षी दलका नेता निर्वाचित भएका थिए । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री नियुक्तिको आह्वान गर्दा देउवाले नेकपा एमालेका विद्रोही सांसद सहित १४९ सांसद को समर्थनमा प्रधानमन्त्री पदमा दावी गरेका थिए तर नेकपा एमालेबाट केपी ओलीको पनि दाबी रहेपछि राष्ट्रपतिले दुवै दाबीलाई खारेज गरी केपी ओलीलाई नै प्रधानमन्त्री कायम गरिन् ।
पाँचौ प्रधानमन्त्री काल
वि.सं २०७८ जेठ ७ मा ओली मन्त्रिमण्डलले प्रतिनिधि सभा विघटन सिफारिस गर्यो । १४९ सांसदले देउवालाइ प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालतमा रिट दायर गरे । २०७८ जेठ २८ मा संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि आह्वान भएपछि १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो । २०७८ असार २९ अपरान्ह ५ बजेभित्र देउवालाई नियुक्त गरिसक्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो । हालै भएको कांग्रेसको १४औं महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका देउवाले पार्टी सभापति पदमा पनि विजय हासिल गरेका छन् ।




