राजा महेन्द्रको मृत्युमा शंका गर्ने ठाउँहरु !

आज माघ १७ गते राजा महेन्द्रको मृत्यु भएको पचास वर्ष पूरा भएको छ । विभिन्न शंका उपशंका रहे पनि यो मृत्युको कुनै पनि छानबिन नै नगरिकन रहस्य मै छोडियो । स्वयम् नवराजा विरेन्द्र शाहपनि महेन्द्रको अपत्यारिलो देहावसानमा केही शंका गरिरहेका थिए । तर पछि उनले हृदयघातबाटै मृत्यु भएको स्विकार गरे ।

२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुर जानका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि तय गरिएको थियो । तर लामो समयसम्म चितवनको दियालो बंगलामा बस्न पाएनन् । अचानक माघ १६ गतेको राती हृदयघातले राती ११ बजे महेन्द्रको निधन भयो । तर भोलिल्ट बिहान ३ः४५ मा चिकित्सकबाट देहावसानको घोषणा भयो । तर यो मृत्यु रहस्यमय रह्यो । धेरैले धेरै किसिमका तर्कहरु प्रस्तुत गरे ।

राजा महेन्द्रका बारेमा केही चर्चा गरौं :

आषाढ कृष्णपक्ष नवमीको दिन वि.सं १९७७ जेठ ३० गते शुक्रवार नारायणहिटी राजदरबारमा कान्ती राज्यलक्ष्मीको कोखबाट जन्मिएका युवराज महेन्द्रको दुबै आमाहरु भारत सीतापुरबाट विवाह गरेर ल्याइएको हुँदा राणा परिवारसँग धेरै निकटता थिएन । त्यो समय राजाको थिए भन्दा पनि श्री ३ महाराजा को थिए ? भन्ने महत्वपूर्ण हुने समय थियो । तसर्थ महाराजा श्री ३ चन्द्रशम्शेरको प्रभुत्व रहेको समय थियो । युवराजको बाल्यकालमा दरबार भित्र नै शिक्षा दिक्षाको प्रबन्ध मिलाइएको हुँदा खासै बाहिर पनि सम्पर्क हुँदैनथ्यो ।

दरबारमा शिक्षकको रुपमा किर्तिराज दलीले दरबारमै शिक्षा दिन थालेका थिए । साथै तुल्सीमान सिंह र मदनदेवले अंग्रेजी शिक्षा दिन थालेका थिए । अंग्रेजीका सुविख्यात कविका कविताहरु पढाउन थालेका थिए । भवनाथ पाण्डेलाई नेपाली साहित्य र संस्कृत अध्यापन गराउन लगाइयो । पण्डित दधिरामपनि दरबारमा पढाउन आइपुगेपछि दुबै मिलेर हितोपदेश, पञ्चतन्त्र तथा कालिदासको रघुवंश कण्ठस्थ बनाउन लगाइयो । बिस्तारै संगीत तर्फपनि रुचि देखाउन थालेपछि भुपालमानसिंहलाई शास्त्रीय संगीत सिकाउन लगाइयो । यसरी दरबार भित्रको सम्पूर्ण शिक्षाले सबै कुरामा पारंगत हुँदै गए ।

पञ्चतन्त्रले जीवनलाई दुई विपरित किसिमले बुझ्न सिकायो । कसरी एकअर्कोमा सन्तुलन राख्न सकिन्छ भने बुझे । साथै जीवनमा विनम्र बन्न पनि सिकाइयो । कणिक नीतिका कथाहरु र शिक्षाहरुलाई बाल्यकालमा ध्यानसँग पढेका युवराजले आफ्नो राज्यकालमा राजनैतिक रुपले कणिक नीतिका नियमहरुको उपयोग गरेका थिए । कणिक धृतराष्ट्रका प्रमुख मन्त्री थिए, कणिकको सल्लाहमा नै धृतराष्ट्रले राज्य सञ्चालन गर्दथे । पाण्डवसँगको युद्धमा कणिकको सल्लाहमा नै कौरवहरुले कणिकको सल्लाह नै लिने गर्दथे । यसरी धृतराष्ट्रलाई कणिकले दिने सल्लाहलाई कणिक नीति भन्ने गरिन्छ । यसमा राजनीतिमा विरोधीसँग कसरी विजय गर्ने भन्ने सिकाएको छ । पछि राजा महेन्द्रले कणिक नीतिको आधारमा नै राज्य सञ्चालन गरेका थिए ।

घोडचढीमा सिपालु रहेका युवराजको लागि सानो घोडा नै राखिएको थियो । राजा महेन्द्र युवराज छँदै पनि उनको स्वभाव अलि भिन्न थियो । यस्तैमा युवराज महेन्द्र विरामी भएपछि दरबारमा सुसारेको ब्यवस्था पनि गराइएको थियो । दरबारमा सुसारेको रुपमा रुम्जाटारकी रम्बा गुरुङलाई ल्याइएको थियो । दरबार भित्र नै रहने हुँदा रम्बा गुरुङसँग निकट हुँदा गर्भवती बनाउन पुगे । दरबारमा जस्तो परिस्थिति भए पनि भ्रुणहत्या गरिंदैनथ्यो । जसले गर्दा रम्बालाई दरबारले ल्याइतेको रुपमा स्विकार गर्यो । केवल १३ वर्षको उमेरमा नै महेन्द्र बाबु बने । रम्बाको नाम दरवारले गीता राखिदियो र ल्याइते सरहको अधिकार दियो । यसरी आमा छोरालाई सम्पूर्ण खर्चको ब्यवस्था दरबारले गराइदियो तर राजपरिवारको सदस्यको अधिकारबाट भने बञ्चित नै राखे । गीताबाट जन्मिएका छोरा रवीन्द्र बाबु जस्तै गीतकार एवं कवि भएर निस्किए । तर उनले आमालाई भने हेरेनन् । दरबारले चारजना नोकर सहित वार्षिक खर्च र बस्नलाई बत्तिसपुतलीमा घर दिएको थियो । तर महेन्द्रको देहावसान पछि यो खर्चमा कटौती गरियो ।

यसरी दरबार भित्रकी सेविकासँग नै लसपस भेटिएपछि युवराजको विवाह श्री ३ जुद्धशम्शेरको नातिनी तथा हरिशम्शेरको छोरी इन्द्र राज्यलक्ष्मीसँग वि.सं १९९७ बैशाख २६ गते गराइदिए । विवाहको दश वर्षपछि दिल्ली पलायन हुनु केवल दुई महिना अगाडी युवराज धिरेन्द्रको जन्मको समय अत्यधिक रक्तश्रावले गर्दा युवराज्ञी इन्द्रको देहावसान भयो ।

युवराज्ञी इन्द्रसँगको विवाहपछि युवराज महेन्द्रले युवराज्ञी इन्द्रको सम्झनामा गोकर्णको जंगलभित्र सम्झना सदन बनाएका थिए । यदाकदा फुर्सद पायो भने सम्झना सदन पुग्दथे । युवराजले यसलाई शान्तिको आश्रयस्थल भन्दथे । यहि बेलाबेला साली रञ्जना पनि दिदीको साथ पुग्दथिन् । अचानक दिदी इन्द्रको देहावसान पछि युवराज साली रञ्जनाको नजिक रम्न थाले । महेन्द्ले बाबुसँग निहुँ खोज्दै साली रञ्जनासँग विवाह गर्न जिद्दी गर्न थाले । बाबुले पहिलो विवाह तत्कालिन राणा श्री ३ जुद्धशमशेरकी नातिनीसँग गर्न बाध्य भए पनि देशमा प्रजातन्त्र आइसकेर राणाहरु अधिकारविहीन भइसकेको हुँदा राणासँग दोश्रो विवाह नगराउने ठानिसकेका थिए । भोली राजा बन्नुपर्ने युवराजको लागि भारतकै कुनै रियासतकी राजकुमारीसँग विवाह गराउने सोचमा थिए बाबु त्रिभुवन ।

छोराको जिद्दी पछि राजा त्रिभुवनले पनि माहिला छोरा हिमालयलाई राजगद्दीका हकदारको रुपमा युवराज घोषणा गर्ने तैयारी गर्न थालेका थिए । यता युवराज महेन्द्र पनि रञ्जनासँगको प्रेममा चुर्लुम्म डुबेर युवराजको पदबाट राजिनामा दिइ साधारण जनता सरह रञ्जनासँग नै जीवन बिताउने ठानिसकेका थिए । बिचमा कांग्रेसका नेता विपीले राजा र युवराज दुबैलाई सम्झाएर राजा त्रिभुवनलाई रञ्जना राणासँग विवाहको लागि मनाउन सफल भए । यसरी युवराजको दोश्रो विवाहमा राजी भएपनि पछि आउन सक्ने विवादको आँकलन गरि दोश्रो विवाह पछि सन्तान पाउन नपाउने शर्त राखे । जसको लागि भनिन्छ, विवाह पूर्व नै पाठेघर फ्याक्न लगाए ।

यो के कति सत्य हो भन्ने कुनै आधार नभए पनि विवाह पछि सन्तान नजन्माउने शर्त भने रञ्जनाले स्विकार गरेकी थिइन् । यसरी इन्द्र राज्यलक्ष्मीको देहावसानको दुई वर्षपछि २००९ मंसिर २५ गते कान्छी साली रञ्जना राणा (रत्न)सँग विवाह गरे । राजा त्रिभुवन यस विवाहको लागि भित्रदेखि नै खुशी थिएनन् । तसर्थ युवराज महेन्द्रले यो विवाह साथीसंगी र भाइहरुको साथ बागदरबारबाट रत्नलाई सिधै नागार्जुन दरबारमा लगेका थिए । नारायणहिटी दरबारमा शुरुमा स्विकार गरिएन । हुन पनि पछि युवराज्ञी रत्नले दिदीका सबै सन्तानलाई आफ्नै सन्तान सरह हुर्काईन् ।

राजा त्रिभुवनको भारत निर्वासन :

२००७ सालमा राजा त्रिभुवन भारतीय राजदुत सिपिएन सिंहको गलत मनसायमा फसेर भारतीय राजदुतावासमा शरण लिन पुगे । यस अगाडि राजा त्रिभुवनले नेपाली कांग्रेसलाई पाल्पा लगिदिन आग्रह गरेका थिए । पाल्पामा बसेर राणाशासनको अन्त्यको घोषणा गर्ने योजना थियो । तर कांग्रेस सधै समयमै आवश्यक काम गर्न चुक्छ । हेलिकोप्टरको ब्यवस्था गर्न ढिलाइ हुँदा राजा त्रिभुवन भारतीय राजदुतको चंगुलमा फस्दछन् । यहि नै नेपालको सबैभन्दा ठूलो दुर्भाग्य थियो । यसपछि नेहरु आफ्नो षडयन्त्रमा सफल हुन्छन् । नेहरुले न त राजा त्रिभुवनको साथ र विश्वास गरे न त विपिलाई बलियो साथ र विश्वास गरे । नेपाललाई आफ्नो एक प्रान्त झैं ब्यवहार गर्ने नेहरुले उत्तरप्रदेशका गृहसचिव गोविन्दनारायण सिंहलाई राजा त्रिभुवनको प्रमुख सल्लाहकारको रुपमा नेपाल पठाए ।

त्यो समयको नेपाल गजेटमा उनलाई दिइएको अधिकारको अध्ययन गर्दा उनै सर्वेसर्वा थिए । अझ मातृका मन्त्रिमण्डलको समयमा त सरकारी उच्च तहका ३०० कर्मचारी भारतीय थिए । मातृकाले नेहरुको सल्लाहमा एनएम बुचको नेतृत्वमा एक आयोग गठन गरि उनकै सल्लाहमा प्रशासनिक सुधारका नाममा भारतीय कर्मचारीलाई नियुक्ति दिएका थिए । करिव ३ वर्षको नेपाल प्रवासमा उनले नेपालको सुरक्षा परिषदको एक बैठक दिल्लीमा राख्न पनि सफल भएका थिए । साथै नेपालको सैनिकहरुको संख्या घटाउन निकै ठूलो भूमिका खेलेका थिए । यो सबै बुझेका युवराज महेन्द्र मौकाको ताकमा थिए । राजा महेन्द्रले राजगद्धी सम्हालेपछि सबैभन्दा पहिले यिनै गोविन्दनारायण सिंहलाई भारत फिर्ता पठाए । तत्कालिन समयमा नेहरुले लेखेका पत्रहरुको चाङ नै अहिले पुस्तकका रुपमा आइसकेको हुँदा पनि नेहरुका तत्कालिन मनसायहरु अहिले पनि सहजै पढ्न र बुझ्न सक्छौं ।

युवराज महेन्द्र राजा बनेपछि :

उपचार गर्दागर्दै पनि २०११ फागुन ३० गते अचानक स्विटजरल्याण्डमा राजा त्रिभुवनको देहान्त भयो । युवराज महेन्द्रको काँधमा सिङ्गो राष्ट्रको बोझ आइपुग्यो, उनी राजा बने । देशमा राणाबाट मुक्तिपछि राजनीति गतिलोसँग गर्न जान्ने राजनेता जन्मिएको थिएन । एक अर्कोमा आक्षेप र खिचातानीमा नै समय बितिरहेको थियो । आफ्नो देशबाट राणाशासन हटाउनको लागि भारतको सहयोग लिएको हुँदा भारतले आफ्नो हैकम दरबारमा तथा राजनैतिक कार्यकर्ता बिचमा पनि बढाउन थालेको थियो । यसरी भारतको दबदबाको विरोधमा नयाँ राजा महेन्द्रले कदमहरु चाल्न थालिहाले । हुन त राजा त्रिभुवन जीवितै रहँदा पनि युवराज महेन्द्रले भारतको दबदबाको विरोध गरि नै रहेका थिए । बाबु राजा हुने समयमा नै भारतको विशेष गरेर नेहरुको नीतिको विरोध गर्दै आएका राजा महेन्द्रले आफ्नो शासनकालमा अझ बढि भारत तथा नेहरुकै उपेक्षा गर्न थाले । विकासको लागि विश्वभ्रमण गर्न थाले । विभिन्न देशसँग सहयोगको लागि आह्वान गर्न थाले ।

राजगद्दी सम्हालेको ५ महिनामा नै वि.सं २०१२ साउन १७ गते चीनसँग दौत्य सम्बन्ध कायम गरेर भारतको प्रभावलाई केही मत्थर गर्ने कोशिस गरेका थिए । शासन सम्हालेको एक वर्ष भन्दा कम अवधिमा नै वि.सं २०१२ असोज २२ मा पहिलो पञ्चवर्षीय योजनाको घोषणा गरेका थिए । तथा वि.सं २०१२ मंसिर २९ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता पाएको थियो । यसरी राजगद्दी सम्हालेको पहिलो साल नै दलहरु बिचको सामञ्जस्य बढाउने प्रयासको थालनी पनि गरिसकेका थिए । २०१३ बैशाख २० गते भएको राजा महेन्द्रको शुभराज्याभिषेक नेपालमा विश्वका प्रमुख कुटनीतिकहरुको पहिलो जमघट हो । यस शुभराज्याभिषेक समारोहले नेपाललाई विश्वभर चिनाउन मद्दत गरेको थियो । यस समारोहमा पहिलो पटक नेपालले विश्वभरका राजनीतिज्ञहरुलाई विशेष किसिमले स्वागत तथा सत्कार गर्ने अवसर पाएको थियो ।

देशमा प्रजातन्त्र आगमन पछिको राजनैतिक घटनाक्रमलाई राम्ररी नियाल्ने हो भने त्यसबेलाका राजनैतिक दलहरु सक्षम भइनसकेको आभास हुन्छ । यस बिच मातृकाप्रसाद कोइराला दुई पटक प्रधानमन्त्री बने तर अन्य प्रधानमन्त्रीहरु लामो समय टिक्न सकेनन् वा भनौं टिक्न दिएनन् । वि.सं २००७ सालदेखि २०१७ सालको बिचमा दलीय राजनीति निकै तल्लो स्तरको थियो । दाजुभाई नै मिल्न सकेनन् । दुबैलाई मिलाउन कांग्रेसी कार्यकर्ता भारतका नेतालाई गुहार्नसम्म पुगे ।

देशमा प्रजातान्त्रिक सरकार बनेपछि राजा लामो विदेश भ्रमणमा निस्केका थिए । विश्व राजनितीलाई नजिकबाट नियालेर फर्केका राजाले राष्ट्रिय आमचुनावबाट बनेको विपीको सरकारलाई पनि अपदस्थ गरिदिए । देशमा रहेका राजनैतिक आस्था भएकाहरुको सधै यहि गुनासो रहने गर्दछ,‘किन राजाले जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए’ ?

देशका जनतासँग प्रत्यक्ष सम्वादको थालनी पश्चिम नेपालबाट गर्दा बाटोघाटोको अप्ठ्यारो महसुस गरि २०१८ मा पूर्वपश्चिम राजमार्गको उद्घाटन गर्न पाउँदा राजा सबैभन्दा बढी खुशी भएका थिए । हुन पनि यस राजमार्गको निर्माणले पूर्वदेखि पश्चिमसम्मका नेपालीले आफ्नो देश सहजै चिन्न पाएका थिए ।
भनिन्छ, त्रिभुवन विश्वविद्यालय बनाउने समयमा देशको ढुकुटीमा रकम अभाव हुँदा मुमा बडामहारानी कान्ति र इश्वरीको गहना बेचेका थिए । राजकाजको समय कतिपय कठोर निर्णयहरु पनि भए होलान् । जसलाई केही वर्गले सहजै स्विकार गर्न सकेनन् । तर समग्रमा राजा महेन्द्रले चालेका कतिपय कदमहरु राजा वीरेन्द्रले अगाडि बढाउन सकेनन् । राजा वीरेन्द्र धेरै नरमवादी थिए तर राजा महेन्द्र समय अनुकूल बन्थे । कहिले कठोर कहिले नरम भएर आवश्यक कदम चाल्थे ।

जननिर्वाचित सरकारलाई अपदस्थ गरिदिए पछि भारत अझै राजा महेन्द्रसँग चिढिए । विभिन्न उद्योगहरुको स्थापनाको लागि चीन तथा रुसको सहयोग लिए । नेहरुले विरोध गरिरहे तर महेन्द्रले आफ्नो गति रोकेनन् । यसरी भारतले महेन्द्रको आफ्नो नेपालप्रति दमनको नीतिको विरोधीको रुपमा लिन थाले । नेपाली कांग्रेसले सधै भारत आफ्नो हितमा रहेको ठानिरहे तर नेहरुले कहिल्यै वीपिप्रति सहयोगी र सद्भाव राखेनन् । राजा महेन्द्रको १७ सालको कदमको भित्रि रुपमा सहयोग नेहरुको पनि थियो ।

दुई दिन अगाडि मात्र भारतीय सेनाप्रमुख ठिमैया नेपाल भ्रमणमा रहनु र १७ सालको कदम पछि जननिर्वाचित प्रधानमन्त्री जेल कोच्चिए पछि भारतको संसदमा नेहरुले बोल्ने क्रममा एक सांसदले नेपालका राजालाई धन्यवाद र बधाइ दिनुपर्छसम्म भनेका थिए । साथै ठिमैयाको पक्षमा नेहरुले भनेका थिए, ‘उनी सम्मानको कार्यक्रममा पुगेका थिए तर अचानक राजाले यस्तो कदम चाले । यसमा ठिमैया अथवा भारतको कुनै साथ र सहयोग थिएन ।’ तर अनौठो संयोग वा योजना थियो त्यसबेला । राजाले प्रजातान्त्रिक सरकार अपदस्थ गरिरहँदा भारतीय राजदुत हरिश्वर डोयाल, भारतीय सेनाप्रमुख जनरल ठिमैया र नेपालका सैनिक प्रमुख निरशम्शेर चितवनमा थिए । पुस १ गतेको बिहानै राजा महेन्द्रले जनरल ठिमैयाको हात नेहरुलाई सम्पूर्ण जानकारी सहितको पत्र पठाएका थिए । तर नेहरुले सो पत्र पुस ४ को बिहान मात्र पाए । पछि राजासँगको भेटमा नेहरुले वीपी सरकार मात्र अपदस्थ गरेर संसद भंग नगरेको भए हुने हो भनेका थिए भनिन्छ ।

राजाको रुपमा महेन्द्रले खासै लामो समय शासन गर्न पाएनन् । पुरा १७ वर्ष पनि शासन गर्न पाएका थिएनन् । तर पनि छोटो अवधिमा पनि धेरै काम गरेर देखाएका थिए । शायद यो अवधिमा नेपालमा जुन किसिमको विकासका पूर्वाधारहरु बने यसले पछिसम्म विकासका लहरहरु नै चले । गाउँ गाउँमा पुगेर गाउँलेका झुप्रामा पुगेर उनीहरुको दुःख सुन्ने परिपाटी उनले शुरु गरेका थिए । जुन पछि राजा वीरेन्द्रले पनि नियमित गरे ।

वि.सं २०२८ माघ ३ गते लामो छुट्टी मनाउने उद्देश्यले महेन्द्र चितवन लागेका थिए । प्रधानमन्त्री किर्तीनिधी विष्टलाई माघ महिनाको मन्त्रिपरिषदको बैठक दियालो बंगलामा नै गर्ने पनि जानकारी दिएका थिए । साथै राजा यो छुट्टीमा देशको निकासको लागि केही गहन निर्णय गर्ने मनसायले विचार विमर्ष गर्न पनि एकान्त ठाउँ खोज्दै थिए । चितवन जाँदा उनमा कुनै पनि किसिमको शारिरीक समस्या थिएन । साधारण अवस्थामा छुट्टीमा चितवन पुगेका राजा केही दिन आफूलाई ब्यस्त राख्न शिकारमा पनि गएका थिए ।

वि.सं २०२६ सालमा राजा महेन्द्रले राजधानी बाहिर नेपालकै मध्य भाग पर्ने गरि महेन्द्र राजमार्ग नजिकै शितकालिन दरबारको रुपमा दियालो बंगला बनाएका थिए । यो दरबार धार्मिक रुपले पनि महत्वपूर्ण देवहरुको भूमी देवघाटमा बनाइएको थियो । चारकोशे झाडीको जंगलको एक भाग भित्र जीवनको उज्यालोको आशाको स्वरुप बनाइएको थियो दियालो बंगला ।

२०२८ सालको असोज १९ गतेदेखि २९ गतेसम्म रौटहट र बारा जिल्लामा धार्मिक दंगा भएको थियो । त्यसपछि नेपालका जनजातिका अगुवाहरुको रुपमा खड्गबहादुर गुरुङ, नरबहादुर गुरुङ, खगेन्द्रजंग गुरुङ, योगी नरहरीनाथ लगायत थुप्रैसँग इन्दिरा गान्धीले भेट गरेकी थिइन् । देशमा जातीय द्वन्दको तयारी इन्दिरा गान्धीले गराउन चाहेको छनक पाएका थिए, राजा महेन्द्रले । जुनबेला भारतको राजधानी दिल्लीमा नेपालका जातीय अगुवाहरु इन्दिरा गान्धीसँगको गोप्य छलफलमा ब्यस्त थिए, त्यहि समयमा नै चितवनमा राजा महेन्द्रको देहान्त भएको थियो । नेपालमा पहिलो पटक भएको जातीय दंगामा ५१ ब्यक्तिको हत्या भएको थियो भने १८७४ घर जलाइएको थियो । यसको पीडा पनि राजा महेन्द्रलाई गहिरोसँग लागेको थियो ।

यस्तैमा माघ १० गते दियालो बंगलामा नै भएको मन्त्रिपरिषदको बैठकमा पनि भारतपरस्त एक दुईजना मन्त्रीबाट केही विरोधका आवाजहरु पनि आएका थिए । राजाले छलफलका लागि अर्को बैठक माघ १७ मा बोलाएका थिए । दलविहीन राजनीतिमा लागेको १० वर्ष भइसक्दा पनि देशमा बहुदलीय ब्यवस्थाको आवश्यकताको अनूभूती राजाले गरिसकेका थिए । बहुदलीय ब्यवस्थामा नेतृत्व भने विपीलाई नै दिनुपर्छ भन्नेमा राजा निश्चिन्त थिए । राजाको आगामी योजना र नेतृत्वको आह्वान सहितको पत्र बोकेर श्रीभद्र शर्मा विपी निर्वासन रहेको सारनाथ गइसकेका थिए । यसको जानकारी मन्त्रिमण्डलकै एक सदस्यले गोप्यरुपमा भारतलाई जानकारी पठाइएको आशंका गरिएको थियो । वास्तवमा भारत अझै पनि विपीको नेतृत्व चाहँदैनथ्यो । यस्तैमा माघ १७ को अर्को बैठक बस्नै नसकिने गरि राजा महेन्द्रको देहान्त भयो ।

राजा महेन्द्रको समयमा नै किर्तिनिधी विष्टको सरकारले चीनियाँ नाका नजिकै रहेको भारतीय चेकपोष्टहरु हटाएको थियो । २०२६ साल साउन १० गते राष्ट्रिय पञ्चायतको बैठकबाट संकल्प प्रस्ताव पारित गराइ हिमाली नाकामा रहेका १७ वटा भारतीय चेकपोष्ट, त्यहाँ रहेको वायरलेस अपरेटर तथा सैनिक तुरुन्त हटाउन लगाइएको थियो । यसबाट इन्दिरा गान्धी सरकार राजा महेन्द्रप्रति निकै रुष्ट भएको थियो । साथै किर्तिनिधी विष्टले १९५० को सन्धीको कुनै औचित्य नरहेको भन्ने वक्तव्य समेत दिएका थिए । राणाशासन अझै केहि समय टिकाउन मद्दत गर्ने लोभ देखाएर नेहरुले मोहन शम्शेरलाई सन् १९५० को सन्धीमा हस्ताक्षर गर्न लगाएका थिए । तर पछि नेहरुले नत राणालाई सहयोग गरे नत विपी र त्रिभुवनलाई नै सहयोग गरे । सबैलाई लोभ देखाउँदै आफ्नो स्वार्थ पुरा गरिरहे ।

शुरुमा सिक्किमलाई भारतमा गाभ्ने र त्यसपछि भारतले नेपालको तराइ क्षेत्रलाई टुक्राउने योजना बनाएका थिए । सन् १९६८ मा भारतीय जासुसी संस्था ‘र’को गठन भएको थियो । यसका प्रमुखका रुपमा आरएन काओ नियुक्त भएका थिए । काओ भारतीय जासुसको रुपमा परिचित भइसकेका थिए । जसले गर्दा काओ विभिन्न षड्यन्त्रमा अगाडि बढे । तराइ टुक्राउने छनक पाएका राजा महेन्द्रले तुरन्तै भारतीय चेकपोष्टहरु हटाउन लगाएका थिए । तर अचानक राजाको निधन भयो । उता भारतले सिक्किमलाई भारतमा विलय गरि छाड्यो ।

काओ नेपालको तराई टुक्राउने योजनामा अगाडि बढ्दै थिए । अचानक भारतीय राजनीतिमा आन्तरिक समस्या बल्झियो जसले गर्दा इन्दिरा गान्धी इमर्जेन्सी लगाउन बाध्य भइन् । सबै राजनैतिक कृयाकलाप तथा अन्य योजनाहरु सबै रोकिए । काओको नेपालको तराइ टुक्राउने योजना पनि तुहियो । जसले गर्दा नेपाल एउटा ठूलो संकटबाट बच्यो । अझै पनि भारत नेपालको तराइ टुक्राउने योजनामा नै रहेको देखिन्छ । काओसँगको कुराकानीका आधारमा एके यादवले आफ्नो पुस्तक ‘मिसन र’ मा यसको उल्लेख गरेका छन् ।

यी त भए षडयन्त्रका हुनसक्ने कारणहरु । राजा महेन्द्रको केही समस्या स्वास्थ्यको पनि थियो । २०२४ सालमा पहिलो पटक हृदयघात भएपछि बेलायतमा उपचार भएको थियो । वि.सं २०२७ माघ १७ गते शिकारको क्रममा कञ्चनपुरमा बाघलाई ताकेर हानिएको गोली ढुङ्गामा ठोक्किइ उछिटिँदा छर्राले रानी रत्नलाई चोट लागेको थियो । रानी रत्नको उपचार त्यसबेला नेपालमा नै गरिएको थियो । शाही चिकित्सक मेजर जनरल शुशिलचन्द्र हल्डरको विशेष निगरानीमा उपचार भएको थियो । यस घटनाले पनि राजा महेन्द्रमा गहिरो चोट पुगेको थियो । वि.सं २०२६ सालमा पनि शिकारकै क्रममा कञ्चनपुरको हरैयामा बाघलाई गोली प्रहार गर्दा गोली बाघमा नलागि उल्टै बाघले राजालाई आक्रमण गर्न लाग्दा नजिकै रहेका सुरक्षाकर्मीले बाघलाई गोली हानेर मारेका थिए ।

बाघको अप्रत्याशित आक्रमणको त्रासले राजा अचानक बेहोस् भएका थिए । यसपटक भारतीय चिकित्सकहरुले नै उपचार गरेका थिए । सामान्य अवस्थामा माघ ३ गते दियालो बंगला पुगेका राजा महेन्द्रलाई तेश्रो पटक माघ १६ गते राती हृदयघात भएको भनियो । जसको कारणले १७ गतेको बिहान ३ः४५ मा निधन भएको जानकारी गराइयो । तर विवरणहरु अनुसार भने राजा महेन्द्रको उपचारका लागि भारतीय चिकित्सक एमएल भाटिया पनि आएका थिए । यदि एमएल भाटिया पनि उपचारमा संलग्न थिए भने राजा महेन्द्रलाई ब्यथाले केही दिन अगाडि नै समाएको हुनुपर्छ । शाही चिकित्सक सुशिलचन्द्र हल्डरले उपचार गरेका थिए । रानी रत्नको समेत उपचार गरेका हल्डर सेनाका चिकित्सक थिए । सेनामा उपरथी (मेजर जनरल) रहेका उनलाई रानी रत्नको सफल उपचारको लागि अति सुविख्यात सेवालंकार समेत दिइएको थियो । उनका साथै अर्का शाही चिकित्सक सच्चेकुमार पहाडी तथा मृगेन्द्रराज पाण्डे पनि खटिएका थिए । यसरी स्वदेशी विशिष्ट चिकित्सकले उपचार गरिरहेको समयमा एम्सका प्रख्यात चिकित्सक एमएल भाटियालाई बोलाइयो । उनको उपस्थिति नै धेरैलाई प्रश्नचिन्ह राख्ने ठाउँ बन्यो । उनको आगमन पछि नै राजाको देहान्त हुँदा उपचारमा लापरवाही वा षडयन्त्र भएको धेरै आशंका भयो ।

डाक्टर भाटिया एम्समा पहिलो पटक पेसमेकर प्रत्यारोपण गर्ने चिकित्सक हुन् । सन् १९६५ बाट पेसमेकर प्रत्यारोपण मात्र गर्दै थिए । तसर्थ कतै दियालो बंगलामा सिमित श्रोत र साधनका बिच पनि उनले अप्रेशन गर्ने कतै प्रयास त गरेनन् । जसको कारणले राजा महेन्द्रको देहान्त भयो । यदि राजा महेन्द्र गम्भिर हृदयघातबाट पीडित थिए भने किन तत्कालै सुविधा सम्पन्न अस्पतालमा लगिएन ? किन दियालो बंगलामा नै उपचार गर्ने असफल प्रयास भइरह्यो ?

अर्को प्रसंग, जोन कोपम्यानको पनि आउने गर्दछ । उनको विवादास्पद भनाइ आएको थियो, ‘राजा महेन्द्रलाई हृदयघात हुँदा कोपम्यान र राजा दुइजना सँगै थिए । उनले नै शाही डाक्टरलाई तत्कालै बोलाएका थिए ।’ जोन कोपम्यानलाई कतै कतै सिआइएको एजेन्टको रुपमा पनि उल्लेख गर्ने गरिएको देखिन्छ । यदि यसो हो भने जोन कोपम्यान राजा महेन्द्रसँग एकान्तमा ह्विस्कीमा रम्नुको कारण के थियो ? साथै राजा महेन्द्रको देहावसान पछि कोपम्यानले नेपाल सदाको लागि छोडेर गए ।

जोन कोपम्यान अचानक २०२९ सालमा नेपालबाट पलायन भए । उनले चलाइरहेको होटल टाइगर टपको जिम्मा उनले जिम एड्वर्डसलाई दिएका थिए । २०२१ साउन २० गते राजा महेन्द्रको विश्वासपात्रको रुपमा जोन भर्नान कोपम्यानले होटल टाइगर टप चलाउन १५ वर्षको लागि चितवनको जंगलको बिचमा रहेको १७० एकड जमिन होटल सञ्चालनको लागि तथा जंगलको १००० वर्गमाइल क्षेत्र अन्य प्रयोजनका लागि लिएका थिए । जोन कोपम्यानले आफ्ना दुई लगानीकर्ताको रुपमा अमेरिकी राज्य डल्लासका हर्वर्ट डब्लु क्लेन र टोडी लि विन्ने जुनियरलाई लिएका थिए । तर १५ वर्षको लागि होटल सञ्चालनको जिम्मा लिएका कोपम्यान राजाको देहावसान पछि जिम एड्वर्डसलाई जिम्मा लगाएर नेपालबाट बाहिरिए ।

राजा महेन्द्रले आफ्नो छोटो शासनकालमा सबैभन्दा बढि मुलुकको भ्रमण गरेर कुटनैतिक फाइदा लिए । देशको विकासको लागि विभिन्न देशबाट सहयोग पाएका थिए । उद्योग कलकारखानाहरु खुलेका थिए । क्रमशः बाटाहरुले पनि एक अर्को शहरलाई जोड्दै थियो । त्यति बेलाका उद्योग कलकारखानामा रहेका कर्मचारी तथा मजदूरहरु राष्ट्रमुखी सोच राख्नेखालका थिए । नेपाल स्वतन्त्र राष्ट्र नै होइन भनेर संयुक्त राष्ट्रसंघको सदस्यताको लागि नेपालले गरेको अनुरोधमा भिटो लगाउने रुसले राजा महेन्द्रको भ्रमणपछि थुप्रै उद्योग तथा सडकमा सहयोग गरे ।

अहिलेको तुलना गर्यो भने नेपालका नेताहरु ब्यक्तिमुखी तथा दलमुखी हुन पुगे । जसले गर्दा सिमित ब्यक्ति त सम्पन्न भए तर समग्र देश सम्पन्न हुन सकेन । जबसम्म देशका दलहरु र दलका अगुवाहरु राष्ट्रमुखी हुँदैनन् । केवल आफ्ना र दलको स्वार्थमा नै केन्द्रित रहन्छन्, देशले कुनै गतिशिल निकास पाउँदैन । तसर्थ अहिलेको देशको राजनैतिक परिस्थितिको निकासको लागि कुनै नयाँ कदम छिट्टै आओस् भन्ने अपेक्षा गरौं । सुनिल उलकको फेसबुकबाट ।

यसमा तपाइको मत

अन्य समाचार