खोप हिनामिना गरेको आरोपमा स्वास्थ्य मन्त्री खतिवडा विरुद्ध उजुरी (पत्र सहित)

माघ १८, काडमाडौं । एमाले निकट राष्ट्रिय युवा संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा लगायतले २४ लाख डोज खोप हिनामिना गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी दायर गरेको छ ।

युवा संघका सहसंयोजक संजीवकुमार झाले मन्त्री विरोध खतिवडा लगायत विरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराए । उजुरीमा स्वास्थ्यमन्त्री भएर खतिवडा आएपछि २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिनागरेको आरोप लगाइएको छ ।

‘नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ,’ उजुरीमा भनिएको छ, ‘यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८, १७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचारमा संलग्न स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा तथा अन्य व्यक्ति पत्ता लगाई कारबाही गरिपाउँ ।’

मन्त्री खतिवडा सहितका अधिकारी विरुद्ध उजुरी दिनका लागि एमालेका केन्द्रीय सदस्य तथा युवा संघका संयोजक किरण पौडेल, सह संयोजक क्रान्ति बुर्लाकोटी लगायत अमित लामा, क्षितिज थेबे, रमेश आचार्य, अन्जना अधिकारी, महाराज गरुङ्गको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार