दाङको गढवामा मनाइयो ५८औं बालदिवस, स्वास्थ्य मन्त्री र पालिका प्रमुखले के भने ?

भालुबाङ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा दाङको गढवा गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा विज्ञान प्रविधि सामग्री प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ ।

‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुलनाराका साथ बाल दिवस गढवामा मनाइएको हो । गढवा गाउँपालिका प्रमुख यमनारायण शर्मा ‘विश्वास’को अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गढवा गाउँपालिकाका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा भएको पढाई मेला प्रतियोगितामा छात्र तर्फ राप्ती साउथन इङ्ग्लिस बोर्डिङ स्कुलका रोशन भट्टराई प्रथम, बाल कल्याण आवशिय विद्यालय बालाखुट्टीका ईरशाद खान द्वितीय र दुर्गा आवासीय विद्यालय पारस परियार तृतीय स्थान हासिल गरेका छन् ।

त्यसैगरी पढाई मेला छात्रा तर्फ बाल कल्याण आवासीय विद्यालय बालाखुट्टीकी प्रकृति पन्त प्रथम, माध्यामिक विद्यालय चैनपुरकी पवित्रा खत्री द्वितीय, राप्ती साउथन इङ्ग्लिस बोर्डिङकी स्नेह थारु कुमालले तृतीय स्थान हासिल गरेका छन् । विज्ञान सामाग्री प्रदर्शन प्रतियोगिता सरस्वती माध्यमिक विद्यालय गोवबरडियाका तेजप्रसाद शर्मा प्रथम, जनता माध्यमिक विद्यालय गढवाका हेमन्तकुमार यादव द्वितीय र बुद्धज्योती माध्यमिक विद्यालय गढवाकी अबिना शर्माले तृतीय स्थान हासिल गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री इन्द्रजित थारुले देशको राजनीतिक परिवर्तनसँगै सबैको प्रयत्नमा बाल अधिकारको क्षेत्रमा धेरै कार्यहरु भएको बताए । उनले बालबालिकाको विशेषतः संरक्षण र सुरक्षाको क्षेत्रमा गर्नुपर्ने कार्यहरु अझै पनि धेरै रहेको बताए ।

स्वास्थ्य तथा शिक्षामा पहुँच बृद्धि र गुणस्तर कायम गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतर्फ बालबालिका विरुद्धका हिंसा, दुव्र्यवहार शोषण लगायत बालबिवाह जस्ता प्रचलनका घटनाहरु पूणर्रुपमा न्यूनीकरण गर्दै वास्तविक बाल अधिकार प्रवद्र्धन गर्नुपर्ने थप दायित्व हाम्रो काँधमा रहेको भन्दै त्यतातिर लाग्नु पर्ने बताए ।

मन्त्री थारुले बाल अधिकार हननका घटनाहरुबाट बालबालिकालाई जोगाउन लुम्बिनी प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी बताए । त्यसैगरी कार्यक्रमा बोल्दै गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्माले बालबालिकाको हकहित, संरक्षण तथा संवद्र्धन गर्नका लागि तिनै तहका राज्यका संरचना, अभिभावक, विद्यालय र समाजको भूमिका अपरिहार्य रहेकोमा जोड दिए ।

कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, लेखाशाखा अधिकृत शम्भुराज आचार्य, प्रशासन प्रमुख पुनाराम शर्मा, कार्यपालिका सदस्यहरु रमा अधिकारी, चन्द्रा केसी, मानबहादुर नेपाली त्यसैगरी शिक्षा शाखा प्रमुख श्यामबहादुर विक रबिलाल माझी, महिला तथा बालबालिका शाखा प्रमुख प्रेरणा चन्द, न्यायिक समितिका सदस्य सुरेश पौडेल, वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगर, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, गढवा उद्योग वाणिज्य संघका दिनमणि आचार्य, मुक्त कम्लहरी विकास मञ्चकी ज्ञानु थापा, शान्ति तथा पुनर्स्थापना केन्द्र जिल्ला कार्यक्रम संयोजक कैलास राना, जलजला संस्था मनिकापुर आशिस कल्पबवृ, माध्यामिक विद्यालय चैनपुरका रामकिसुन यादव, जनता माध्यमिक विद्यालय कालाकाटेका रामप्रसाद खनाल, शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल विकाश रजौरे, दुर्गा आवि मनिकापुरका प्रधानाध्यापक मन्साराम चौधरी लगायतको गढवा गाउँपालिकामा सञ्चालित विभिन्न सामुदायिक तथा निजी विद्यलय, संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

कार्यपालिका सदस्य चन्द्रा केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख प्रेरणा चन्दले गरेकी थिइन् ।

यसमा तपाइको मत

अन्य समाचार