काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पर्वको समयमा फुटपाथलाई पथ व्यवस्थित बनाउने बारेमा एक सार्वजनिक सूचना जारी गरेका छन् । मेयर साहले आज एक प्रेस विज्ञप्ति जारी गर्दै फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको बताएका छन् ।
साहले विज्ञप्तिमा भनेका छन्,‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ । यसैगरी सहरी सरसफाईलाई पूणर् सरसफाइसम्म पुर्याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छाैं ।’
उनले विज्ञप्तिमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ । पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा यो बेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका लागि घर बाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूणर् र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ, भनेका छन् । मेयर साहले यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पारेका छन् ।




