दाङमा प्रेममा रहेका जोडीको हत्या, शव जंगलको खाल्डोमा भेटियो

दाङ । दाङमा प्रेम जोडीको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १३ का शरद आचार्य र रोशनी महताराको शव फेला परेको छ । आज स्थानीय जनकल्याण सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा उनीहरुको शव फेला परेको इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

डीएसपी मल्लका अनुसार शरदको शव माथि रोशनीको शव फेला परेको छ । उनीहरूलाई गाडिएको खाल्डो करिब डेढ मिटर मात्रै गहिरो छ । शव दुर्गन्धित भइसकेको प्रहरीले जानकारी दिएको छ । शरद र रोशनी असोज २७ गते राति आआफ्ना घरबाट बेपत्ता भएको वडाअध्यक्ष मोहन पौडेलले जानकारी दिए । आफन्तकोमा र कतै पनि फेला नपरेपछि शुक्रबार प्रहरीलाई जानकारी गराइएको थियो ।

गाउँलेले जंगलमा खोज्ने क्रममा रोशनीको कपडा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । खनेको माटो देखिएको ठाउँमा खनेर प्रहरीले शव निकालेको हो । उनीहरूको हत्या पश्चात खाल्डो खनेर गाडेको प्रहरीले बताएको छ ।

सोही घटनामा संलग्न भएको आशंकामा प्रहरीले घोराहीबाट एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मृतक शरद र रोशनी स्थानीय अम्बापुर माविको ९ कक्षामा अध्यनरत थिए । उनीहरू बीच प्रेम सम्बन्धमा रहेको स्थानीयहरू बताउँछन् । दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले घटनाका बारेमा गम्भीर भएर अनुसन्धान थालिएको प्रतिक्रिया दिएका छन् ।

यता अर्को समाचार अनुसार बाढी र पहिरो लगायतका प्राकृतिक विपदमा परी देशभर २ सय ३९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति भएको छ । गएको वैशाख १ गतेदेखि शुक्रबारसम्मको तथ्याङ्क अनुसार यसपालि पहिरोका ३ सय १७ वटा घटना भएका छन् । त्यसमा परेर ९४ जनाको ज्यान गएको छ भने १८ जना बेपत्ता भएका छन् ।

यस्तै, बाढीका कारण १९ जनाको ज्यान गएको छ भने १५ जना बेपत्ता भएका छन् । ठूलो वर्षामा परेर ८ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यस्तै, यो अवधिमा परेको चट्याङ लागेर ८० जनाले ज्यान गुमाएका छन् । आगलागीका परेर २७ जनाको ज्यान गएको छ । यस्तै, हुरीबतासका कारण ९ र हिमपहिरोमा परेर २ जनाको निधन भएको प्राधिकरणको तथ्याङ्क छ ।

यसमा तपाइको मत

अन्य समाचार