अर्घाखाँची । तिहारको मुखैमा अर्घाखाँची जिल्लामा आफ्नै दाजूले भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका-१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्ने गाँउका ७० वर्षिय वीरबहादुर गमालका दाजूले आफ्नै भाईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
डिएसपी रिजालका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजू हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किंदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेनको विषयमा दाजुभाईको सामान्य विवाद हुँदा भीरबाट धकेली भाईको मृत्यु भएको प्रहरीले बताएको छ ।
हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उता तनहुँको बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ११ वर्षीय बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । घरबाट सानिआमाको घरमा जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो ।
बिहान ६:३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता श्रेष्ठले बताए । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको थियो ।
‘घरदेखि सानिआमाको घरको दूरी दुई सय मिटर छ, बाटोमा सालघारी पर्छ, सानिआमाको घर आउनुभन्दा ५० मिटर वर चितुवाले आक्रमण गरेछ,’ उनले भने । बालिकाको सोही वडाको जनता प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् । पछिल्लो समय बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दीपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।
चितुवाको आक्रमणबाट बन्दीपुर-१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका-४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका-१ बाघदलेका ३५ वर्षीया भिमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।
पछिल्लो केही वर्ष यता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्ष भन्दा कम उमेरका बालबालिका छन् ।




