नेपालगञ्ज मेडिकल कलेजको ब्रम्हलुट र लापरवाही विरुद्ध नेकपा (बहुमत)ले सुरु गर्यो आन्दोलन

कोहलपुर । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बेथिति बढेको भन्दै नेकपा (बहुमत)ले संघर्ष सुरु गरेको छ । सो शिक्षण अस्पतालले चार महिनादेखि डाइलसिस सेवा बन्द गरेर मिर्गौलाका बिरामीको जीवनमाथी खेलबाड गरेको भन्दै मंगलबार अस्पताल परिसरमा पुगेर बहुमतले विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका बाँके र बर्दिया जिल्ला इन्चार्ज प्रेम बहादुर चलाउने ‘अनन्त’ ले मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनताको उपचार गर्ने नाममा ब्रह्मलुट गरिरहेको आरोप लगाए । उनले शिक्षा र स्वास्थ जस्तो जनताको प्रत्येक्ष जीवनसँग जोडिएको अति आवश्यक तथा संवेदनशील क्षेत्रमा चरम व्यापारिकरण बढ्नु र त्यसमा सरोकारवाला निकाय टुलुटुलु हेरेर बस्नु सरकारको नालायकिपन र असफलता भएको आरोप दावी गरे ।

उनले यो हुनुको प्रमुख कारण अहिलेको दलाल संसदीय पुँजीवादी व्यवस्थाद्धारा निर्देशित संसदीय प्रणाली र यसका सञ्चालकहरु भएको बताए ।

सो अवसरमा बोल्दै बाँके जिल्ला इञ्चार्ज कृष्ण शाहले महङ्गो मूल्यमा अवैधानिक औषधीहरु विक्रि भइरहेको, कर्मचारीहरुको महिनौदेखिको पारिश्रमिक नदिएर श्रमशोषण गरेको, एमबिबिएस तथा नर्सिङ पढने विद्यार्थीबाट विभिन्न बहानमा शुल्क उठाएर लुट्ने, अस्पताल भित्र वा बाहिरका फार्मेसी सञ्चालक र अस्पतालका चिकित्सक तथा कर्मचारीको मिलेमतोमा महँगोमा औषधी बेच्नुका साथै फार्मेसीमा सिण्डिकेट गरेर बिरामीलाई लुट्ने गरेको, इमर्जेन्सी विभाग लगायतका अस्पतालका विभिन्न विभागमा सेवामा ढिलासुस्ती र लापरबाही गर्ने गरेकोले अस्पताल विरुद्ध संघर्ष सुरु गर्नुपरेको बताए ।

उनले जनताको जीवनसँग जोडिएका गम्भीर समस्याको बारेमा अस्पताल प्रशासनले ध्यान नदिए अस्तपतालका विरुद्ध आफ्नो पार्टीले कठोर संघर्ष गर्ने समेत बताए ।

पछिल्लो समय अस्पतालको लापरबाहीका कारण डायलसिस गर्न नपाएर गत चार महिना यता मात्र ३३ जनाले ज्यान गुमाउनुपरेका समाचारहरु सोमबार मात्र विभिन्न अनलाइन पत्रपत्रिकाहरु सार्वजनिक भएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार