काठमाडौं । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार : हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित राष्ट्रिय पोल्ट्री दिवस, २०७९ मनाइँदै छ ।
जस अन्तरगतको दोस्रो दिन ललितपुरको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अण्डा तथा मासुका बारेमा विभिन्न कुराको जानकारी दिइएको छ । 
सामुदायिक विद्यालयमा अण्डा तथा मासु उपभोगको महत्व बारे स्कूल शिक्षा सहितको अण्डा खुवाउने कार्यक्रम बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लगनखेल ललितपुरको आयोजनामा राष्ट्रिय पोल्ट्री दिवस, २०७९ सप्ताहव्यापी रुपमा मनाउने सन्दर्भमा पहिलो दिन (२०७९/०९/११ गते ) कार्यक्रम बारे पत्रकार भेटघाट र दोस्रो दिन (२०७९/०९/१२ गते) सामुदायिक विद्यालयमा अण्डा तथा मासु उपभोगको महत्व बारे स्कूल शिक्षा सहितको अण्डा खुवाउने कार्यक्रमको आयोजना गर्ने रहेकोमा नमूना मछिन्द्र माध्यमिक विद्यालय लगनखेल ललितपुरमा निम्न कार्यक्रम गरी सम्पन्न गरिएको हो ।
कुखुराको अण्डा र मासुको पौष्टिक महत्व बारे स्कुल शिक्षा :
सो सवसरमा कुखुराको अण्डा र मासुको पौष्टिक महत्व बारे भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृतस्तर आठौं पशु विकास अधिकृत श्री बासुदेव नाथले नमूना मछिन्द्र माध्यमिक विद्यालय लगनखेल ललितपुरमा अध्ययनरत विद्यार्थीहरुलाई प्रस्तुतिकरण तथा आवश्यक शिक्षा दिनु भयो ।
अण्डाको पौष्टिक महत्वः
अण्डामा प्रसस्त मात्रामा प्रोटिन, चिल्लो, भिटामिन र खनिज पदार्थहरु पाइन्छन् । अण्डाबाट प्राप्त हुने उच्चस्तरको प्रोटिन सजिलैसित पचाउन सकिन्छ । अण्डामा फलाम फस्फोरस र अति कम मात्रामा चाहिने अन्य खनिज पदार्थहरु भिटामिन ए, इ,के, बी २ बी ५र बी १२ समेत सबै बी भिटामिनहरुको राम्रो स्रोत पनि हो । कुखुराको अण्डामा रहेको सेलेनियमले क्यान्सर विरुद्ध लड्दछ भने फोस्फोरस र क्याल्सियमले दाँत र हड्डीलाई र जिंकले इम्युन सिस्टमलाई मजबुत बनाउदछ ।
आँखाको तेजपना बढाउनको लागि समेत अण्डाको सेवन अतिनै महत्वपूणर् छ । त्यसकारण पनि दैनिक १-२ वटा अण्डा वा हप्तामा ४-५ अण्डा खानु उपयुक्त मानिन्छ । माछाको तेल पछि कुखुराको अण्डा मात्र भिटामिन डी को प्राकृतिक स्रोत हो । एक मझौला आकारको अण्डाले ७७ केलोरी शक्ति प्रदान गर्दछ । कुखुराको अण्डाबाट पाउरोटी, केक, चाउचाउ लगायत अनेक प्रकारका स्वादिष्ट परिकारहरु तयार गर्न सकिन्छ ।
मासुको पौष्टिक महत्वः
क) हाल आएर सबै भन्दा बढी उपभोग हुने मासुमा कुखुराको मासु नै पर्दछ ।
ख) कुखुराको मासु उच्चस्तरको पौष्टिक खाद्य पदार्थ हो ।
ग) कुखुराको मासु खसीको मासु भन्दा सस्तो र सजिलै उपलब्ध हुने तथा स्वास्थ्यको लागि समेत उपयुक्त हुने भएकोले लोकप्रिय हुँदै गइरहेको छ ।
घ) हाम्रो दैनिक खानामा मासु सम्मिलित गरेर हाम्रो खानाको पौष्टिकतामा सुधार गर्न सकिन्छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अण्डा खुवाइयो :
नमूना मछिन्द्र माध्यमिक विद्यालय लगनखेल ललितपुरमा अध्ययनरत २५५ जना विद्यार्थी र १५ जना शिक्षक तथा कर्मचारीहरुलाई स्कूल शिक्षा पश्चात अण्डा खुवाउने कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कार्यालयका सम्पूर्ण कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।




