वि.सं. १९९१ फाल्गुन २० गतेका दिन काभ्रेको बनेपामा जन्मेका आशाकाजी सेवकद्वारा लिखित ‘शिक्षक खोज्न जाँदा र शैक्षिक रचनाहरु’ नामक लेख सङ्ग्रह २०५४ सालमा प्रकाशित भएको छ । यस कृतिभित्र शिक्षक खोज्न जाँदा, विद्यालय कस्तो हुनुपर्छ ?
विद्यालयलाई सरस्वतीको मन्दिर सम्झनुपर्छ, शिक्षण अनुभूति लगायत विभिन्न शीर्षकका १२ वटा लेखहरु समावेश गरिएका छन् । आशाकाजी शिक्षक खोज्न जाँदा कायल भएर नपाएपछि विद्यालयमा जाने गर्दथे । विद्यार्थीहरुले अब त शिक्षक ल्याउनु भयो होला भनेर उनीसँग सोध्दथे । उनीहरुको शिक्षक कहिले आउला ? भन्ने प्रश्नमा आइपुग्छन् नै भन्नु बाहेक केही थिएन भनेर आशाकाजीले लेखेका छन् ।
विद्यालय कस्तो हुनुपर्छ ? शीर्षकभित्र विद्यालयहरु बढी मात्रामा जनसहभागितामा चलाउने कुरो यता केही वर्षदेखि निरन्तर सुनिंदैछ र भोगिंदैछ । यसको लागि नीति स्पष्ट हुनुपर्छ । शिक्षा शाखा र विद्यालयको कार्यमा परस्पर द्वन्द्व हुनुहुँदैन भनेर उनले लेखेका छन् ।
विद्यालयलाई सरस्वतीको मन्दिर सम्झनुपर्छ शीर्षकभित्र शिक्षण पेशाले मलाई आकर्षित गर्यो । त्यसबेला मैले सात आठ कक्षासम्म पढेको थिए । घरको आर्थिक परिस्थितिले गर्दा मेरो अध्ययन छुट्न गयो भनेर आशाकाजीले लेखेका छन् ।
शिक्षण अनुभूति शीर्षकभित्र एक पटक कक्षा अवलोकन गर्न आएका विशेषज्ञ भनाउँदोले कक्षा अवलोकन गरिसकेपछि लामो आलोचना गरेका थिए । उनले कक्षामा विद्यार्थीहरु नियन्त्रित नभएको, पढाई आकर्षक नभएकोमा बढी जाेड गरे भनेका छन् ।
निजी क्षेत्रका विद्यालयको भूमिका शीर्षकको लेखमा निजी क्षेत्रका विद्यालयहरुमा पढाइको माध्यम अंग्रेजी भाषा भनेर विज्ञापन गरिएतापनि वास्तवमा पढाइको माध्यम नेपाली भाषा नै बढी प्रयोग भएको देखिन्छ । निजी क्षेत्रका विद्यालयहरु कतिपय विदेशीहरुले विशेष गरी दार्जिलिङ्ग र सिक्किमको शिक्षकहरुबाट संचालित छन् भनेर उनले लेखेका छन् ।
बालसाहित्यद्वारा शिक्षा शीर्षकभित्र बाल बालिकालाई सुमार्गमा लानका निम्ति शिक्षा अत्यन्त आवश्यक छ । शिक्षा दिंदा दण्ड वा शासना दिएर वा हप्काएर भन्दा पनि मायालु वातावरणमा दिनु आवश्यक छ भनेर आशाकाजीले लेखेका छन् ।
शिक्षाकोे विकासमा शिक्षकको अधिकार र दायित्व शीर्षकको लेखमा शिक्षाको विकासमा शिक्षकको भूमिका अग्रणी रुपमा पाइन्छ । विद्यालयको भवन मात्र राम्रो भएर हुँदैन, पाठ्यपुस्तक र पाठ्यक्रम मात्र राम्रो भएर हुँदैन यस्तै पढ्ने वातावरण र विद्यार्थीहरु राम्रो हुँदैमा मात्र पनि शिक्षाको विकास हुँदैन ।
शिक्षाको विकासको लागि राम्रो पाठ्यक्रम, पाठ्य पुस्तक, राम्रो कक्षा कोठा, शान्त वातावरणमा सिक्न उत्सुक विद्यार्थीहरुको साथै राम्रा शिक्षकहरु पनि भएको खण्डमा मात्र शिक्षाको विकास हुन्छ भनेर उनले लेखेका छन् ।
विद्यालयस्तरमा साहित्यिक कार्यक्रम शीर्षकभित्र विद्यालय अन्तर्गत रोचक हुनसक्ने लोकप्रिय कार्यक्रम नृत्य हो । केटाकेटीहरुलाई नाच्न स्वभावत रहर लाग्छ भनेर आशाकाजीले लेखेका छन् । फर्केर हेर्दा शीर्षकभित्र २००७ साल फाल्गुन ७ गते देशमा प्रजातन्त्र आएपछि जनताको झुकाव पब्लिक स्कूलतिर गयो भनेर उनले लेखेका छन् ।
उनको यो पुस्तक निकै नै राम्रो पढ्नयोग्य छ । यो पुस्तक सबै पाठकहरुले पढ्नै पर्छ । यो पुस्तकको प्रकाशक अनामणि प्रकाशन, नाला, काभ्रे हो । मूल्य रु. ३०।– राखिएको छ । पृष्ठ संख्या ५० को छ ।




