अन्जना सुवेदी, काठमाडौं । लोकदोहोरी गीतको माहोलमा फेरि अर्को पनि गीत थपिएको छ । यसरी दिनदिनै धेरै नेपाली गीतहरु रेकर्ड हुनु र सञ्चारमाध्यमको विशालतम् बजारमा आउनु निकै खुशीको कुरा हो ।
हो, यस्तै मौलिक र सिर्जनात्मकरुपमा गीतसंगीतको विकास हुँदा नै विदेशी संस्कृतिको हस्तक्षेप रोक्न सकिन्छ । यसैबीच ‘नौमतीको ताल तिम्लाई पाए जिन्दगी यसै मालामाल’ बोलको गीत पनि बजारमा आएको छ । जसमा बिरु कार्की र गंगा लोहनीको सुमधुर स्वर रहेको छ भने गीतका शब्दहरु गंगा लोहनीले सिर्जना गरेकी हुन् ।
नौमतीको तालमा रेकर्ड गरिएको सो गीतको संगीत संयोजन कृष्ण केसीले गरेका छन् । गीतमा माया र पिरतीको रमाइलो कुरा गरिएको छ । गीतमा केटाले केटीलाई वा केटीले केटालाई पाउँदा जिन्दगी यसै मालामाल हुने चर्चा गरिएको छ । गीतको स्थानीयता र लयको कोणबाट हेर्दा नौमती बाजाहरु बजाएर गरेर यो गीत रेकर्ड गर्नु नै नेपाली गीतप्रतिको न्याय हो ।
गीतमा रमाइलो गाउँघरको वातावरण देखाइनु र परापूर्वकालदेखिका नेपाली बाजाहरु बजाइँदा गीतमा स्थानीयता भेटिन्छ । यो त्यहाँको मौलिकता हो । गण्डकी प्रदेशमा चर्चित नौमती बाजा नौ वटा बाजाहरूको समूह हो । यो पञ्चेबाजाको एकमुष्ट रूप हो । यसमा चारवटा अरू बाजाहरू पनि हुन्छन् । दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल र नरसिङ्गा बाजाका साथमा २–२ वटा सहनाई र दमाहा पनि रहेका हुन्छन् ।
सहनाई र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ जना वाद्यवादक कलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्यसमूहलाई नौमती बाजा भनिएको हो ।
हिजैदेखि गण्डकी अञ्चल (हालको गण्डकी प्रदेश र यसको वरपर) यी बाजाहरु बजाइन्थे भने आज पनि यी बाजाहरु अन्यत्र पनि बजाउने चलन चलिसकेको छ । अर्थात् यी बाजाहरु व्यवसायिक भइसकेका छन् । नेपाली मौलिकता बोकेको यो गीतले धेरै स्रोता र दर्शकको माया पावस् शुभकामना ।




