काठमाडौँ । काठमाडौँको न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उक्त पसलले बिक्री गर्ने खाद्य वस्तुमा साङ्लो (किरा) भेटिएपछि महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सो कारबाही गरेको हो ।
वैशाख १६ गते एक उपभोक्ताले न्यूरोडमा रहेको शिव फुड्सबाट खरिद गरेको खाद्य वस्तुमा साङ्लो भेटिएको भन्दै महानगरमा उजुरी दिएका थिए ।
उजुरीकर्ताले प्रमाणका रूपमा फोटो र भिडियो समेत पेश गरेका थिए ।
प्राप्त प्रमाणहरूको अध्ययन र अनुसन्धान गर्दा उक्त खाद्य वस्तुमा साङ्लोजस्तो देखिने किट रहेको पुष्टि भएको महानगरको प्रतिवेदनमा उल्लेख छ ।
महानगरको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले उक्त व्यवसायलाई ५० हजार रुपैयाँ जरिवाना असुल गर्न र आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउन निर्देशन दिएको जानकारी दिए ।




