इरानी हमलाकाे त्रासले अमेरिकाले कतारबाट सैन्य विमानहरू भगायाे

काठमाडौं । अमेरिका–इरानबीचको युद्ध थप तीव्र बन्दै गइरहेका बेला अमेरिकाले इराननजिक रहेका आफ्ना केही महत्त्वपूर्ण सैन्य विमानहरूलाई स्थानान्तरण गर्न थालेको छ ।

यो कदमलाई सामान्य फिर्ती नभई सम्भावित इरानी आक्रमणबाट सैन्य सम्पत्ति जोगाउने र आगामी सैन्य अभियानलाई प्रभावकारी बनाउने रणनीतिक तयारीका रूपमा हेरिएको छ ।

विभिन्न रिपोर्टहरूका अनुसार, अमेरिकाले यस वर्ष दोस्रोपटक कतारस्थित आफ्नो सबैभन्दा ठूलो सैन्य अखडा अल उदेद एयर बेसबाट महत्त्वपूर्ण सैन्य विमानहरू अन्यत्र सार्न थालेको हो ।

यसक्रममा अमेरिकी वायुसेनाका केसी–१३५ स्ट्र्याटोट्यांकर हवाई इन्धन आपूर्ति गर्ने विमानहरूलाई दक्षिणी इजरायलस्थित ओवडा एयर बेसतर्फ पठाइएको बताइएको छ ।

यो कदम इरानबाट अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमण हुनसक्ने जोखिम बढिरहेका बेला चालिएको हो ।

सैन्य विश्लेषकहरूले यसलाई सुरक्षा उपायका साथै सम्भावित आगामी सैन्य अभियानका लागि गरिएको रणनीतिक तयारीका रूपमा व्याख्या गरेका छन् ।

यसअघि अमेरिकी सेन्ट्रल कमाण्डले पश्चिम एसियामा तैनाथ ५० हजारभन्दा बढी अमेरिकी सैनिकलाई उच्च सतर्क अवस्थामा राखिएको तथा इरानविरुद्धको हवाई अभियानको अर्को चरण सञ्चालन गरिएको जनाएको थियो ।

दोस्रोपटक विमान स्थानान्तरण
फ्लाइट ट्र्याकिङ तथ्यांक र उपग्रह तस्बिरहरूका आधारमा सार्वजनिक भएका रिपोर्टअनुसार जुलाईको मध्यदेखि अल उदेद एयर बेसबाट दर्जनौँ केसी–१३५ विमानहरूले उडान भरेका छन् ।
ती रिपोर्टहरूमा हालसम्म ६० भन्दा बढी अमेरिकी हवाई इन्धन आपूर्ति गर्ने विमानहरू इजरायल पुगेको दाबी गरिएको छ । तीमध्ये कम्तीमा ३३ वटा विमान बेन गुरियन विमानस्थल क्षेत्रमा देखिएको उल्लेख गरिएको छ ।

यो यसै वर्ष दोस्रोपटक अमेरिकाले अल उदेद एयर बेसबाट आफ्ना महत्त्वपूर्ण विमानहरू स्थानान्तरण गरेको घटना हो । यसले उक्त सैन्य अखडाको सुरक्षाप्रति वासिङ्टन पहिलेभन्दा बढी संवेदनशील बनेको संकेत गरेको विश्लेषण गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार