अमरसिंह थापाको योगदानको प्रचारमा सहयोग गरेकोमा पूर्वअध्यक्ष गुरुङ सम्मानित

राजेन्द्र न्यौपाने, १६ साउन, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङ सम्मानित हुनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिकाको प्रथम निर्वाचित अध्यक्ष रहेका गुरुङलाई राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औँ स्मृति दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

नेपाल एकीकरणको क्रममा महत्वपूर्ण योगदान दिएका इतिहासका पानामा सिमित रहेका बडाकाजी अमरसिंह थापाको इतिहासको सोधखोज गरी उनको पहिचानलाई प्रचार गर्नका लागि राज्यका तर्फबाट सहयोग पुर्याएको भन्दै राष्ट्रिय विभुति अमरसिंह थापा प्रतिष्ठान, काठमाण्डौले त्रिभुवन आर्मी अफिसर्स क्लव भद्रकालीमा शनिबार सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष गणेश थापाले जानकारी दिनुभयो ।

देशभक्ति, वीरता, त्याग र राष्ट्र निर्माणप्रति बडाकाजी थापाको महत्वपूर्ण योगदान रहेको छ । थापा गोरखाको सिरानचोकमा जन्मेका संस्कृतिविद एवम् इतिहासविज्ञ जगमानसिंह गुरुङले जानकारी दिनुभयो ।

अमरसिंह थापाको जन्मस्थल सिरानचोकमा यस अघि इतिहासविद् द्वय दिनेशराज पन्त र जगमानसिंह गुरुङले स्थलगत अवलोकन समेत गर्नुभएको थियो ।

को हुन् अमरसिंह थापा ?
बडाकाजी अमरसिंह थापा (वि.सं.१८१६–१८७३) नेपाल एकीकरण अभियानका प्रमुख सैन्य नायक तथा कुशल रणनीतिकार थिए । उनी नेपालको पश्चिमी क्षेत्रको एकीकरण तथा राज्यको सीमाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने सेनापतिका रूपमा परिचित छन् । उनको नेतृत्व, वीरता र राष्ट्रप्रतिको समर्पणका कारण उनी नेपाली इतिहासका महान् राष्ट्रिय विभूतिमध्ये एक मानिन्छन् ।
पृथ्वीनारायण शाहपछि बहादुर शाहको संरक्षकत्वकालमा सुरु भएको एकीकरण अभियानमा अमरसिंह थापाले पश्चिम नेपालतर्फ नेतृत्व गरेका थिए । उनले पाल्पा, कुमाउँ, गढवाल लगायतका क्षेत्रमा नेपाली सेनाको नेतृत्व गर्दै राज्य विस्तारमा महत्वपूर्ण सफलता हासिल गरेका थिए ।
अमरसिंह थापा उत्कृष्ट सैन्य योजनाकार थिए । योजना निर्माण, पहाडी भूगोलको प्रभावकारी उपयोग तथा सीमित स्रोत र साधनका बीच युद्ध सञ्चालन गर्ने उनको क्षमता उल्लेखनीय थियो । उनले सैनिकहरूको मनोबल उच्च राख्दै कठिन परिस्थितिमा पनि सफल नेतृत्व प्रदान गरे ।
पश्चिमी नेपालको सीमाको विस्तार

उनको नेतृत्वमा नेपाली राज्य पश्चिमतर्फ विस्तारहुँदै सतलज नदीसम्म पुगेको थियो । यसले नेपालको भौगोलिक क्षेत्रफल र राजनीतिक प्रभावलाई उल्लेखनीय रूपमा बढाएको थियो ।

वि.सं. १८७१–१८७२ (सन् १८१४–१८१६) को नेपाल–अङ्ग्रेज युद्धमा अमरसिंह थापाले पश्चिम मोर्चाको नेतृत्व गरे । देउथल, मलाऊ र आसपासका क्षेत्रमा उनले अङ्ग्रेज सेनासँग साहसपूर्वक प्रतिरोध गरे । स्रोतसाधनको अभाव हुँदाहुँदै पनि उनले नेपाली सेनाको नेतृत्व गर्दै लामो समयसम्म अङ्ग्रेज सेनालाई चुनौती दिए ।

युद्धका क्रममा उनले व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको हितलाई प्राथमिकता दिए । अन्तिम समयसम्म आत्मसमर्पण नगरी राष्ट्रको स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न प्रयासरत रहेका थिए ।
उनको राष्ट्रभक्ति आज पनि नेपालीका लागि प्रेरणाको स्रोत बनेको छ । अमरसिंह थापा पश्चिम नेपालको एकीकरणका समय प्रमुख सेनापति हुन् । नेपालको सीमालाई सतलज नदीसम्म विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेका थापाले नेपाल–अङ्ग्रेज युद्धमा अदम्य साहस र कुशल नेतृत्व प्रदर्शन गरेका थिए ।
नेपाली सेनामा अनुशासन, रणनीति र राष्ट्रभक्तिको भावना विकास गर्नेमा थापा स्थापित थिए । थापाले नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ताको संरक्षणमा उल्लेखनीय योगदान गरेका छन् ।
बडाकाजी अमरसिंह थापा नेपालको एकीकरण अभियानका अत्यन्त महत्वपूर्ण सेनापति थिए ।

उनले पश्चिम नेपालको एकीकरण, सीमाको विस्तार, सैन्य नेतृत्व तथा अङ्ग्रेजविरुद्धको प्रतिरोधमार्फत नेपालको इतिहासमा अमिट छाप छोडेका छन । पृथ्वीनारायण शाहले प्रारम्भ गरेको एकीकरण अभियानलाई पश्चिमतर्फ सफलतापूर्वक अघि बढाउने प्रमुख व्यक्तित्वका रूपमा उनको योगदान सधै स्मरणीय रहेको छ ।

नेपालको पश्चिम क्षेत्रले सम्मान गर्दै आएको तर गोरखाको इतिहासमा भने इतिहासको पानामा मात्रै सिमित रहँदै आएका अमरसिंह थापाको जन्मस्थान गोरखाको सिरानचोक रहेको र सो क्षेत्रमा थापालाई स्थापित गराउन सिरानचोक गाउँपालिका पूर्वअध्यक्ष राजु गुरुङको महत्वपूर्ण योगदान रहेको छ ।

अमरसिंह थापा गोरखा आउँदा जाँदा हिँड्ने बाटाकोे क्षेत्र (अमरपुर) मा थापा र उनका पिता भिमसिंह थापाको शालिक निर्माण गरी पर्यटकीय क्षेत्रका विकासका लागि पूर्वाधार तयार गरिएका छन् । यस क्षेत्रका नागरिकहरुले जग्गा दान गरेर अमरसिंह थापाले गरेको योगदानको महत्वलाई थप सार्थकता बनाइदिएका छन् ।

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह पछिको मुख्य योगदान रहेका उनै अमरसिंह थापाको जन्मथलोलाई अमरसिंह थापाको नामबाट समेत चिनारी गराउने अभियानको थालनी गरेका पूर्वअध्यक्ष गुरुङलाई प्रतिष्ठानले सम्मान गरेको हो ।

गुरुङको अभियानलाई गोरखाली नागरिकहरुले उच्च महत्व दिँदै उक्त कामको प्रसंशा गरेका छन् । अमरसिंह थापाको शालिक तनहुँहुँदै गोरखा प्रवेश गर्ने गोरखा गेटमा तत्काल राख्न पहल गर्नुपर्ने इतिहासबारे जानकार गोरखालीहरुले बताउने गरेका छन् ।
गोरखा जिल्लाको विकासका लागि ऐतिहासिक पर्यटनको अतुलनीय महत्व रहेको कतिपयको भनाई रहेको छ ।
नेपालका प्रथम सहिद लखन थापा, प्रथम मुख्तियार (प्रधानमन्त्री) भिमसेन थापा, नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाह, नेपालको पश्चिमी क्षेत्रका एकीकरणमा महत्वपूर्ण योगदान दिने अमरसिंह थापा, जहानियाँ राणा शासनको शुत्रपात गर्ने नाइके जंगबहादुर राणा समेतको जन्म गोरखामा नै हुनुले पनि यहाँको पर्यटकीय क्षेत्रको विकासमा पूर्वधारको विकास उल्लेख्य मात्रामा नहुनुले के भए गोरखालीले पर्यटन क्षेत्रको विकास गर्न सक्ने हो भन्ने प्रश्न समेत उठेको छ ।

एसिया र अन्य महादेशका राष्ट्रहरुमा सन् १९७० पछिका ऐतिहासिक घटनाक्रमलाई जोडेर करोडौका संख्यामा पर्यटकहरु भित्र्याएर राष्ट्रलाई सफल बनाइरहेका बेला गोरखाले पाएका ऐतिहासिक धरोहरहरुको संरक्षण र संर्वद्धन गरेर ऐतिहासिक पर्यटन क्षेत्रको विकासमा लाग्नुपर्ने कतिपयले बताएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार