२०८३ साउन २५
काठमाडौं । स्पिनर सन्दीप लामिछाने झण्डै ४ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानी जिम्मेवारीमा फर्किएका छन् । यससँगै उनको क्रिकेट करिअरमा पुनः पुनरागमन भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले २६ वर्षिय सन्दीपलाई एक दिवसीय टिमको कप्तान चयन गरेको हो । नेपालले हालै नेदरल्याण्ड्समा आयोजित लिग २ को महत्वपूर्ण श्रृंखलामा खराब प्रदर्शन गरेसँगै सो भ्रमणमा नेपाल जितविहिन बनेको थियो । परिणामस्वरुप नेपालको एक दिवसीय मान्यता पनि संकटमा परेको छ । यसलाई जोगाउने आसामा कप्तान रोहित पौडेलको स्थानमा लिग २ मा अन्तिम श्रृंखला बाँकी हुँदा सन्दीप कप्तानको भूमिकामा फर्किएका हुन् ।
उनले अहिलेको संकटबाट नेपाललाई निकालेर एक दिवसीय मान्यता जोगाउनुपर्ने ठूलो चुनौति छ । एकदिवसीय मान्यता कायम राखेर नेपाललाई विश्वकपमा पुर्याउन सकेको खण्डमा सन्दीपको कार्यकाल एतिहासिक बन्न सक्छ ।
यसका लिग टीमको एकतालाई मजबुत बनाउँदै प्रभावकारी नेतृत्व गर्ने उनीबाट अपेक्षा छ । सन्दीपको करिअर आफैंमा प्रेरणादायी छ । उनी विश्वका सबैजसो फ्रेन्चाइज लिगहरु खेल्ने नेपालका एकमात्र खेलाडी हुन् । उनका नाममा केही महत्वूर्ण विश्वकिर्तिमानहरु समेत छन् । सन्दीप जत्तिको सफल बलर नेपालमा यसअघि जन्मिएको थिएन ।
सन्दीपले श्रावण १६, २०७५ मा नेपालबाट पहिलो ओडीआईमा डेब्यु गरेका थिए । त्यही वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बने । बिग ब्यास, क्यारिबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायत विश्वका ठूला लिगहरूमा उनको उपस्थितिले नेपाली क्रिकेटलाई नै नयाँ उचाइ दियो ।
उनी नेपालका लागि ओडीआई र टी२०आई दुवैमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । ४२ खेलमै १०० ओडीआई विकेट पुर्याएर विश्व रेकर्ड बनाएका उनले पछि ७३ खेलमा १५० विकेटको विश्वकीर्तिमान पनि तोडे ।
पुर्व कप्तान ज्ञानेन्द्र मल्ल पछि मंसिर २९, २०७८ मा क्यानले २१ वर्षीय सन्दीपलाई राष्ट्रिय टिमको कप्तान बनाएको थियो । युवा उमेरमा ठूलो जिम्मेवारी पाएका उनले २०७९ सालमा ओडीआई र टी२०आईमा टिमको नेतृत्व गरे । तर उनको कप्तानी लामो टिकेन ।
भदौ २०७९ मा एक युवतीले बलात्कारको आरोप लगाएपछि उनको जीवनको दिशा फेरियो । असोज २०७९ मा पक्राउ परेका उनी पछि धरौटीमा रिहा भए । पुस(माघ २०८० मा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनायो । तर वैशाख–जेठ २०८१ मा पाटन उच्च अदालतले प्रमाण अपर्याप्त भन्दै सफाइ दियो । सफाइपछि क्यानले निलम्बन फुकुवा गर्यो र उनी फेरि मैदानमा फर्किए ।
कमब्याकपछि पनि सन्दीपले अपवादलाई छोडेर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा एकरुपता र नेतृत्वदायी क्षमताको कारणले नै सन्दीपलाई क्यानले रोहितको विकल्पमा अघि सारेको हो । उनी अनुभवले पनि निकै परिपक्व बनिसकेका छन् । सन्दीपसँग कप्तानमा हुनुपर्ने धेरै गुणहरु छन् । केही सुधार्नुपर्ने पक्षहरु पनि छन् ।
सन्दीपले अब ३० अगष्टदेखि मलेसियामा हुने एसीसी प्रिमियर लिगमा नेपाली टिमको नेतृत्व गर्ने छन् । यो प्रतियोगिताका लागि क्यानले केही सिनियर खेलाडीलाई बिश्राम दिएर युवा खेलाडीहरुलाई समेटेको छ ।




