२०८३ साउन २९, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्ट नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनुभएको । नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसरलाई जिम्मेवारी र चुनौतीको भारी थपिएको संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
‘खुसी भन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले थिचिएको महसुस भएको छ’, भट्टले भन्नु भयो, ‘सिङ्गो सदनको विश्वास लिएर २७ लाख जनताको भावलाई केन्द्रमा राखेर काम गर्नेछु ।’
उहाले काम गर्नेक्रममा धेरै नै चमत्कार सम्भव नहुने भन्दै गरेका काम राम्रा हुने बताउनु भयो । ‘जे गर्नेछु राम्रो गर्ने र राम्रो गरेको अनुभूति दिलाउनेछु’, भट्टको भनाइ छ ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न समय दिनुभएको थियो ।
दाबी पेस भएपछि प्रदेश प्रमुखले भट्टलाई शुक्रबार आज नै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो साथै आजै दिउँसो ३ बजे मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना पनि रहेको नेताहरूले बताएका छन्। नेकपा र एमालेबीच यसअघि नै मन्त्रालयको भागबण्डामा सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय तथा एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।




