२०८३ भदौ ४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तराईका २२ जिल्लाका स्थानीय तहमा कार्यान्वयन भइरहेको कार्यक्रमका लागि सेवा करारमा जनशक्ति माग गरेको छ।
केन्द्रले २०८३ बिहीबार सार्वजनिक सूचना जारी गर्दै ‘क्लिन कुकिङ सोलुसन्स मोबिलाइजर’ (स्वच्छ ऊर्जा परिचालक) पदमा ३६ जना जनशक्ति आह्वान गरेको हो।
हरित जलवायु कोषको सहयोगमा तराईका २२ जिल्लाका बढीमा १५० स्थानीय तहमा खाना पकाउने स्वच्छ ऊर्जासम्बन्धी सीसीएस कार्यक्रम कार्यान्वयनमा रहेको छ। उक्त कार्यक्रम आयोजना अवधिभरका लागि खुलातर्फ १८ जना र महिलातर्फ १८ जना गरी कुल ३६ जना स्वच्छ ऊर्जा परिचालक सेवा करारमा लिन लागिएको हो।
उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह (१०+२) वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै नवीकरणीय ऊर्जाको क्षेत्रमा वा सामाजिक परिचालन अथवा व्यवसाय प्रवर्द्धन तथा बजारीकरणको क्षेत्रमा कम्तीमा दुई वर्ष कार्य अनुभव हुनुपर्ने योग्यता तोकिएको छ। छनोट भएका कर्मचारीले तोकिएको स्थानीय तहमा खटिएर काम गर्नुपर्नेछ।
इच्छुक नेपाली नागरिकले आफ्नो कार्य अनुभव, नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र केन्द्रको ताहाचलस्थित कार्यालयमा वा इमेल (hr@aepc.gov.np) मार्फत आवेदन पेस गर्न सक्नेछन्।
जनशक्ति छनोट शैक्षिक योग्यता र अनुभवका आधारमा संक्षिप्त सूची (सर्टलिस्ट) तयार गरी लिखित र अन्तर्वार्ता परीक्षाबाट गरिनेछ। लिखित परीक्षाको पाठ्यक्रम केन्द्रको आधिकारिक वेबसाइट (www.aepc.gov.np) मा उपलब्ध गराइएको छ। निवेदन पेस गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म दरखास्त दिन सकिनेछ। रीत नपुगेको वा म्याद नाघि प्राप्त हुन आएको निवेदनमाथि कुनै कारबाही नहुने केन्द्रले जनाएको छ।




