घण्टी सरकारको विश्वास घट्दै गइरहेको रास्वपाकै सांसद सिंहकाे भनाइ

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय देशमा हिंसा र अराजकता बढिरहेको बताएका छन् ।

सोमबार (भदौ ८) प्रतिनिधिसभा बैठकमा उनले यस्ता घटनाले सरकारको प्रभावकारिता र विश्वसनीयता घट्दै गएको देखिएको टिप्पणी गरे ।

बाराको सिमरा र सप्तरीमा बालिकाको हत्यासम्बन्धी पछिल्ला दुई घटनाले समाज कता जाँदैछ भन्ने प्रश्न उठाइएको उनले बताए ।

“यो हाम्रो समाज कता गइरहेको छ ? बारा र सप्तरीको दुइटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि कप्तानगन्ज (सुनसरी)को घटना होस्, धार्मिक सामाजिक सद्भाव होस् या मिटरब्याज, लघुवित्तपीडित, डाक्टरको होस,” सांसद डा. सिंहले भने, “दिनका दिन भइरहेको यसले के देखाउँछ कि हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।”

अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार, विभिन्न किसिमका आन्दोलनले नेपाली जनतालाई दुःख दिइरहेको उनले बताए । यो अवस्थाले नेपाली जनता दुःख र असान्त/रिसाएको अवस्थामा रहेको देखिने उनको भनाइ थियो ।

बेथितिसँग अपराध र अराजकता पनि बढेर जाने उनले बताए । “जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ,” उनले भने, “यसलाई राम्रो छलफलको आवश्यकता छ ।”

सांसद सिंहले थप बोल्न खोज्दै थिए, समय सकिएर उनको माइकको प्रसारण काटियो । र, उनी आफ्नो आसनमा बसे ।

यसमा तपाइको मत

अन्य समाचार