केन्द्र सरकारको अनुदान घटे पछि लुम्बिनी सरकारलाई स्रोत सुनिश्चितता गर्न दबाब

२०८३ भदौ १८
<span;>दाङ। लुम्बिनी प्रदेशमा आन्तरिक स्रोत कमजोर रहेको र संघीय सरकारको अनुदान घट्दै गएपछी मुख्यमन्त्री, विभागीय मन्त्री तथा विभिन्न मन्त्रालयका कर्मचारी र विज्ञहरुलाई दीर्घकालीन योजना बनाउन दबाब वढेको हो । उनीहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले राजस्वको दायरा विस्तार, स्रोत पहिचान र संकलन वृद्धिका लागि तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान घट्दै गएको र प्रदेशको आन्तरिक आय बढाउनुपर्ने अवस्था रहेको भन्दै सहभागीहरुले यसमा विशेष चासो राखेका थिए । बुधबार देउखुरीमा आयोजना गरिएको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३–८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफलमा सहभागीहरुले यस्तो चिन्ता राख्दै सरकार र विभागीय मन्त्रालय गम्भीर हुनुपर्ने बताए।

आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेशको कुल आय अनुमान ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ रहेको छ । यसमध्ये नेपाल सरकारबाट प्राप्त हुने अनुदान १४ अर्ब ४१ करोड ७६ लाख, राजस्व बाँडफाँट १२ अर्ब ३१ करोड ८४ लाख र प्रदेशले संकलन गर्ने एकल अधिकारतर्फ २ अर्ब २५ करोड ५८ लाख रुपैयाँ अनुमान गरिएको छ । तर गतवर्षको राजश्व संकलन लक्ष्य नै पूरा नभएकोले यो वर्ष पनि समस्या पुग्ने जनाइएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारुले पर्यटकीय क्षेत्रमा गरिएको लगानीले पनि प्रतिफल दिनुपर्ने बताए । बजेट छरेर मात्र विकास नहुने भन्दै उनले लगानीको उपलब्धि नागरिकको जीवनस्तरमा देखिनुपर्ने र पर्यटन क्षेत्रमा लगानी गर्दा राजस्व वृद्धि र आर्थिक गतिविधि विस्तारलाई समेत उद्देश्य राखिएको र त्यसैमा आधारित भएर काम गरिने प्रष्ट पारे ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बास्तोलाले प्रदेशको वित्तीय प्रगति, मन्त्रालयगत खर्च, राजस्व संकलन, संघीय अनुदान, आगामी आर्थिक वर्षको आय तथा व्यय अनुमानलगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।

आयोजना बैंकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, अधुरा आयोजना प्राथमिकताका साथ सम्पन्न गर्ने, कम प्राथमिकताका कार्यक्रम तथा चालु खर्च कटौती गर्ने, आन्तरिक राजस्वको दायरा विस्तार गर्ने र राजस्व, खर्च तथा अनुदान व्यवस्थापनका लागि एकीकृत प्रणाली विकास गर्ने विषयलाई आगामी कार्यदिशाका रूपमा अघि सारिएको उनले जानकारी गराए ।

प्रमुख सचिव कृष्णप्रसाद काप्रीले राजस्वको दायरा विस्तारका लागि अध्ययन तथा अनुसन्धान आवश्यक रहेको बताए । प्राकृतिक स्रोतसाधनको सही उपयोग र व्यवस्थापनबाट आन्तरिक स्रोत वृद्धि गर्न सकिने भए पनि त्यसका लागि संवेदनशील र व्यवस्थित ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपेन्द्र पुन, भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्री, सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरे तथा वन, वातावरण तथा पर्यटन मन्त्री तुलसीप्रसाद चौधरीले बजेट कार्यान्वयन र मन्त्रालयगत अवस्थाबारे धारणा राखेका थिए ।
छलफलमा मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षको बजेट राजस्व उठाउन सक्ने गरी निर्माण गरिएको उल्लेख गर्दै आन्तरिक स्रोत वृद्धिका लागि विशेष ध्यान दिन विभागीय मन्त्रालयलाई आग्रह गरे । प्रदेशको राजस्व संकलनलाई आत्मनिर्भरतातर्फ लैजान यातायात र वन क्षेत्रलाई प्रमुख स्रोतका रूपमा व्यवस्थित गर्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्ने बताउँदै भारतीय सवारीसाधन नेपाल प्रवेश गर्ने नाकाहरूमा यातायात व्यवस्थापन र राजस्व संकलनलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे । त्यस्तै, प्रदेशभित्र सञ्चालित सबै क्यासिनो राजस्वको दायरामा नआएको विषयमा अध्ययन गरी राजस्वको दायरा विस्तार गर्नुपर्ने बताए ।

पूरा गर्न नसकिने तथा उपलब्धि दिन नसक्ने योजना कार्यान्वयन नगर्न उनले निर्देशन दिए । उनले अधुरा योजना थपिँदै जाने अवस्था अन्त्य गर्दै सम्पन्न गर्न सकिने र नागरिकलाई प्रत्यक्ष उपलब्धि दिने योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताएका हुन् । आचार्यले ठूलो आकारका योजना तर थोरै बजेट विनियोजन गरेर कार्यान्वयनमा लैजाने प्रवृत्ति रोक्नुपर्ने बताए ।

राजस्व संकलनलाई प्रभावकारी बनाउन छुट्टै राजस्व महाशाखा वा आवश्यक संरचना विकास गरी नयाँ क्षेत्र पहिचान गर्नुपर्ने उनको सुझाव थियो । सरकारले चालु वर्षका लागि ल्याएको बजेट सन्तुलित नभएको भन्दै नेकपा,एमाले र कांग्रेस प्रदेश सभा सदस्यहरुले असन्तुष्टि जनाएका थिए । तत्काली सत्तारुढ दल कांग्रेस अहिले विपक्षमा रहेपनि अहिले पनि सत्तारुढ दल एमाले र नेकपाका सदस्यहरुले यो बजेटमा गम्भीर असहमति राखेका छन् र कार्यान्वयनमा प्रश्न उठाइरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार