त्रिशुली थ्री-‘ए’को सुरुङबाट साह र महर्जनको, १० दिनपछि जीवितै उद्धार

२०८३भदौ १९

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ ।

विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि आज बिहान सुरुङबाट जीवितै उद्धार गर्न सफलता प्राप्त भएको हो ।

त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङबाट यी दुई जनाको उद्धार गरेको हो । यी दुई जनालाई पावरहाउस पुग्ने बाटोमा जीवितै भेटेर उद्धार गरिएको हो, पावरहाउसमा पुग्न बाँकी नै छ,’ उनले भने ।

सुरुङभित्र अँध्यारो हुने हुनाले उनीहरूलाई पावरहाउसको कति दुरीबाट उद्धार गरिएको हो भन्न नसकिने पनि उनले जानकारी दिए ।सञ्चालनमा रहेको ६० मेगावाटको यो परियोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको थियो । त्यसो हुँदा विद्युत् गृहमा नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो ।

सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत गृहमा नै रहेको अनुमान गरिएको हो ।
सुरुमा उद्धार गरिएका सञ्जय साहले भित्र सबैजना जीवित रहेको बताए पनि कति मानिसहरू रहेको भन्ने एकिन भैसकेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार