काठमाडौं । चीनले नेपाललाई मौसम विज्ञानसम्बन्धी सूचना, जानकारी एवं तथ्यांक सहयोग तीब्र बनाएको छ । नेपाल–चीन सीमाक्षेत्रमा गएको विनाशकारी पहिरो र बाढीपछि चीनले त्यस्तो सूचना, जानकारी र तथ्यांक सहयोग तीव्र बनाएको सिन्ह्वाले जनाएको छ ।
चीन मौसम विज्ञान प्रशासनका अनुसार सीमापार विपद् अनुगमन तथा आपत्कालीन उद्धारमा सहयोग पुर्याउन चीनले नेपाललाई भूउपग्रह तथ्यांकसहित उच्च प्रविधिमा आधारित मौसम पूर्वानुमान सेवाहरू उपलब्ध गराइरहेको छ ।
चीनले आफ्नो एआई–सञ्चालित मौसमी पूर्वसूचना प्रणाली ‘माजु’ मार्फत फङयुन–३ र फङयुन–४ शृंखलाका भूउपग्रहबाट प्राप्त बहुस्रोत तथ्यांक तथा मौसमी विवरण नेपाललाई वास्तविक समयमा उपलब्ध गराइरहेको जनाएको छ ।
भदौ १० (अगस्ट २६) मा केरुङ–रसुवागढी सीमा क्षेत्रमा गएको भीषण पहिरोपछि चीनको राष्ट्रिय भूउपग्रह मौसमी केन्द्रले प्रभावित क्षेत्रमा वर्षा तथा मौसममा भइरहेको परिवर्तनको निरन्तर अनुगमन गरिरहेको छ ।
उच्च रिजोलुसनका भूउपग्रह तथ्यांकमार्फत माथिल्लो तटीय क्षेत्रमा भएको हिउँ–चट्टान पहिरो तथा नदीको बहावसमेत निगरानी गरी विपद् मूल्यांकनमा सहयोग पुर्याइएको बताइएको छ ।
नेपालका लागि विशेष रूपमा तयार पारिएका मौसम विज्ञान सेवाहरूलाई चिनियाँ फङयुन भूउपग्रहसँग प्रत्यक्ष जोडिएको छ । यसबाट व्यापक क्षेत्रमा हुने वर्षा, चट्याङ तथा अन्य भीषण मौसमी गतिविधिको वास्तविक समयमा अनुगमन गर्न सहयोग पुग्ने चीनले जनाएको छ ।
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा विपद्पछि चिनियाँ मौसमी तथा जलस्रोतसम्बन्धी निकायहरूले नेपाली समकक्षीसँग निरन्तर सहकार्य गर्दै अनुगमन सम्बन्धी तथ्यांक आदानप्रदान गरिरहेको बताएका थिए ।
उनका अनुसार चीनले नेपालको आपत्कालीन उद्धार तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउन आगामी दिनमा पनि यस्ता मौसमी तथा प्राविधिक सहयोगलाई निरन्तरता दिनेछ ।




