काठमाडौं । खसीको मासु भन्दै बाख्राको मासु बिक्री गर्ने ३ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार भारतको सितामडी जिल्ला घर भइ काठमाडौं बस्ने मासु पसल संचालक २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भइ हाल काटमाडौं सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौंडा- ३ घर रातोपुल बस्ने २१ वर्षीय सुजन रसाइली पक्राउ परेका हुन्।
शनिबार बेलुका पौने ६ बजेको समयमा काठमाडौं महानगरपालिका- ८ रातोपुल नजिक सफिक मासु पसलमा खसीको मासु भनेर बाख्राको मासु बेचेको जानकारी पाएपछि प्रहरीले छापा मारेको थियो।
प्रहरीका अनुसार प्रतिकिलो १८०० रुपैयाँमा बाख्रीको मासु बिक्री वितरण गरिराखेको सूचनाको आधारमा मासु पसलको भित्रपट्टि सटरमा बाख्री काटेर मासु बिक्री वितरण गरिराखेको र जिउँदो १ ओटा काट्ने अवस्थामा समेत राखिएको भेटिएको छ।
तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरी बृत गौशालामा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




