२०८३ भदौ २२
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गतेको विनाशकारी बाढी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण वा राजनीतिक विवादमा अल्झिने नभई राष्ट्रिय एकता प्रदर्शन गर्ने समय भएको बताए । राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहितको हिमपहिरोका कारण आएको बाढीलाई कहालीलाग्दो प्राकृतिक प्रकोपको संज्ञा दिए । यस विपत्तिले असङ्ख्य मानव जीवन, घरपरिवार, सडक, पुल र जलविद्युत् आयोजनालगायत राष्ट्रका महत्त्वपूर्ण पूर्वाधारमा अकल्पनीय क्षति पुर्याएकोमा उनले गहिरो शोक व्यक्त गरेकाछन । मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे ।
विपत्तिमा परी ज्यान गुमाउने विदेशी नागरिकहरूप्रति पनि राष्ट्रपतिले शोक व्यक्त गरे । नेपालले आफ्नो भूमिमा रहेका हरेक व्यक्तिलाई परिवारकै सदस्य मान्ने उल्लेख गर्दै,प्रभावित देशका सरकार र कूटनीतिक नियोगहरूसँग सहकार्य गर्ने बताए ।
आफ्नो ज्यानको प्रवाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको साहसको प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरूको सेवाभावले नेपालको उत्कृष्ट मानवीय चरित्र झल्काएको बताए । साथै, छिमेकी मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायले खोज, उद्धार र प्राविधिक सहयोग उपलब्ध गराएकोमा उनले हार्दिक कृतज्ञता व्यक्त गरे ।
कठिन भौगोलिक अवस्थाका बाबजुद बेपत्ता नागरिकहरूको खोजी र उद्धार कार्यलाई निरन्तरता दिन उनले सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रपति पौडेलले विस्थापित नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, औषधोपचार र सुरक्षित आश्रयस्थल सुनिश्चित गर्न सरकारलाई आग्रह गरे । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाहरूको संरक्षणमा विशेष ध्यान दिन उनले जोड दिए । मृतकहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन लगायतका वैज्ञानिक पद्धति अपनाउन समेत उनले सुझाव दिए।
हिमनदी फुट्नु र हिमपहिरो जानुलाई विश्वव्यापी तापक्रम वृद्धिको परिणामसँग जोड्दै राष्ट्रपतिले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । ‘यस विपत्तिले हाम्रो हिमाली पर्यावरणको नाजुक अवस्था दर्साएको छ,’ उनले भने, ‘म अन्तर्राष्ट्रिय समुदायलाई नेपालजस्ता देशहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस कदम चाल्न आह्वान गर्दछु।’
राष्ट्रपतिले पुनर्निर्माण र पुनर्स्थापनाको प्रक्रियामा जाँदा नेपालको साविकको विकास मोडेलमाथि पुनर्विचार गर्न आवश्यक रहेको औँल्याए। विगतका भूकम्प र महामारीजस्तै यसपटक पनि नेपाली जनताले धैर्य र साहसका साथ परिस्थितिको सामना गर्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय पुनरुत्थानका लागि सबैलाई सँगै उभिन आग्रह गरे।




