२०८३ भदौ २५
सिराहा ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले राष्ट्रिय स्वाधीनताको दृष्टिकोणबाट गम्भीर संकटमा रहेको दाबी गरेका छन्। बिहीबार सिरहाको मिर्चैयामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले संविधान, लोकतन्त्र र जनताको अधिकारमाथिसमेत संकट उत्पन्न भएको बताएका हुन्।
प्रचण्डले गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपालको राजनीतिक अवस्था झनै जटिल बनेको दाबी गरे। उनका अनुसार अहिले देश कुन दिशामा अघि बढिरहेको छ भन्नेबारे आम नागरिकमा गम्भीर चिन्ता पैदा भएको छ।
सम्बोधनका क्रममा उनले भने, ‘नेपाल राष्ट्र रहने हो कि होइन भन्ने चिन्ता नेपाली जनताको मनमा पैदा भएको छ। देशमा फेरि अर्को दुर्घटना हुने हो कि भन्ने आशंका पनि बढेको छ।’ उनले देशको वर्तमान परिस्थितिलाई सामान्य रूपमा नलिई नेता तथा कार्यकर्ताले गम्भीर भएर राजनीतिक अवस्थाको विश्लेषण गर्नुपर्नेमा जोड दिए।
भदौ २४ गतेपछि संविधान मिचेर सरकार गठन गरिएको दाबी गर्दै प्रचण्डले संसद् विघटन गर्न नहुने अवस्थामा समेत विघटन गरिएको र नेपालको राजनीतिक भविष्यबारे विदेशी शक्तिहरूले निर्णय गर्न थालेको आरोप लगाए। यही कारण नेकपाले भदौ २४ गतेलाई ‘कालो दिन’का रूपमा लिएको उनको भनाइ थियो।
प्रचण्डले अब ‘नेपाल नेपालीको हातमा फर्काउन’ ठूलो राजनीतिक मोर्चा र आन्दोलन आवश्यक रहेको बताए। उनले अहिले नेपाल नेपालीकै नियन्त्रणमा रहेको ठान्नु भ्रम मात्र भएको दाबी गर्दै भने, अहिले नेपाल नेपाली जनता, राजनीतिक दल र हामी नेताहरूको हातमा छैन, अर्कैको हातमा छ।’
संविधानको वर्तमान अवस्थालाई उनले भेन्टिलेटरमा राखिएको बिरामीसँग तुलना गरे। संविधान ट्र्याकबाहिर गएको टिप्पणी गर्दै उनले भेन्टिलेटर हटाइए संविधान नै समाप्त भएको घोषणा गर्नुपर्ने अवस्था आउने बताए। उनका अनुसार अब संविधानलाई कसरी जीवित राख्ने भन्ने प्रश्न मुख्य बनेको छ।
प्रचण्डले संविधान, लोकतन्त्र, संघीयता, न्याय र सुशासनको पक्षमा अभियान अघि बढाउने जिम्मेवारी वामपन्थी शक्तिहरूले लिनुपर्ने बताए। त्यसका लागि नेकपा एमाले र नेकपा मसालसँग कार्यगत एकताको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै उनले अन्य वामपन्थी शक्तिसँग समेत एकताका लागि छलफल भइरहेको बताए।
यस्तै, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा सहकार्य गरेका राजनीतिक शक्तिहरूबीच पुनः सहकार्य आवश्यक रहेको भन्दै उनले नेपाली कांग्रेससँग पनि संवाद भइरहेको बताए। पछिल्लो राजनीतिक परिस्थितिले विभिन्न दलबीच नयाँ ध्रुवीकरण र सहकार्यको सम्भावना बढाएको संकेत गर्दै प्रचण्डले लोकतन्त्र र संविधानको रक्षाका लागि व्यापक राजनीतिक एकता आवश्यक रहेको धारणा राखेका छन् ।




