गौरक्षाको नाममा मोदी शासनमा ३६ मुस्लिमको हत्या भएको रिपोर्ट सार्वजनिक

ह्युमन राइट्स वाचले भनेको छ, “प्रधानमन्त्री मोदीको हिन्दूवादी विचारधारा बोक्ने पार्टी भाजपा गोरक्षाको समर्थन गर्छ

भारतमा पछिल्लो तीन वर्षमा लगभग ४४ मानिसहरुको गोरक्षाको नाममा हत्या गरिएको रिपोर्ट आएको छ ।
अन्तर्राष्ट्रिय संगठन ‘ह्युमन राइट्स वाच’ को रिपोर्टले यो संख्या उजागर गरेको हो । रिपोर्ट अनुसार हत्यामा संलग्न धेरै जसो गोरक्षकहरुले मोदी प्रशासन र हिन्दूत्वावादी नेताहरुबाट संरक्षण पाउने गरेका छन् । यो हप्ता ह्युमन राइट्स वाचले जारी गरेको १०४ पृष्ठको रिपोर्टमा हिन्दू राष्ट्रवादी समूहद्वारा हमलाहरुको जाँच गरिएको छ । यसमा गोरक्षकहरुद्वारा मारिएका ४४ मध्ये ३६ मुसलमान रहेको उल्लेख छ ।

न्यूयोर्क स्थित संगठनको रिपोर्ट अनुसार सन् २०१५ मेदेखि सन् २०१९ डिसेम्बरबीच १०० गोरक्षकहरुको हमला भयो । यी घटनामा लगभग २८० मानिसहरु घाइते भए । तथापी रिपोर्टमा त्यस अघि भएका घटनाको तथ्याङ्क छैन ।
ह्युमन राइट्स वाचले भनेको छ, “प्रधानमन्त्री मोदीको हिन्दूवादी विचारधारा बोक्ने पार्टी भाजपा गोरक्षाको समर्थन गर्छ । भारतको हिन्दू बहुसंखयकहरुको लागि गाई पवित्र जीव हो । तर भाजपाका नेताहरुले भाषणहरुमा मतदातालाई प्रभावित पार्न मुसलमानहरुविरुद्ध सम्प्रदायिक भावना प्रसार गरे । गाईको मासुको प्रयोग यो समुदायको लागि संवेदनशील भएकाले उनीहरुलाई आफूहरु गाईरक्षाको पक्षमा रहेको बताएर उनीहरुलाई साम्प्रदायिक बनायो ।”

प्रधानमन्त्री मोदीले यस अघि गोरक्षाको आडमा भइरहेको हिंसाको निन्दा गरेका थिए । उनले विभिन्न समयमा गोरक्षाको नाममा मानिसहरुको हत्या स्वीकार्य नहुने बताउने गरेका छन् । रिपोर्टबारे बोल्दै बुधबार भाजपा प्रवक्ता जीवीएल नरसिम्हा रावले प्रधानमन्त्रीले यस्ता तत्वहरुलाई अपराधीभन्दा कम नभनेको र राज्य सरकारहलाई सबै प्रकारका हिंसा विरुद्ध कारबाही गर्न अपील गरेको बताए ।

उनले विपक्षी कांग्रेस पार्टीको सरकारको बेला पनि गाईसँग सम्बन्धित हिंसा भएको तर अन्तर्राष्ट्रिय मिडिया र संगठनहरुलाई भाजपालाई मात्र जिम्मेबार ठहर्याउन मजा आउने बताए ।
यो रिपोर्टले ग्रामिण अर्थव्यवस्थामा यी तथाकथित गोरक्षकहरुको प्रभावलाई पनि उजागर गरिदिन्छ । लोकसभा चुनावभन्दा अघि हिन्दू र मुसलमानहरुबीच धार्मिक तनाव वृद्धि हुने अनुमान गरिएको छ ।

रिपोर्टमा भारतमा मुसलमान डेरी किसानहरुमाथि घातक हमला भएको कुराहरु छन् । उनीहरुमाथि गाईको मासु खाएको आशंकाको भरमै आक्रमण भएका खबर मिडियामा लगातार आइरहेका छन् । ह्युमन राइट्स वाचको रिपोर्ट कथित गोरक्षक समुहहरुसँग जोडिएका हत्याबारे पहिलो विस्तृत सर्वेक्षणहरुमध्य एक हो । भारतको आधिकारिक अपराध तथ्याकंमा गाईसँग जोडिएको हत्यालाई अलग स्थान दिइएको छैन ।

रिपोर्टमा तथाकथित गोरक्षकहरुको हिंसाले भारतको ग्रामिण अर्थव्यवस्थालाई नै प्रभावित बनाएको उल्लेख छ । यसको कारण कैयन हिन्दूहरु पनि आघात परेका छन् । भारतमा आजकल किसानहरु आफ्ना वस्तु–भाउ वसारपसार गर्न अथवा किनबेच गर्न डराउन थालेका छन् । यसका कारण भारतको पशुपालन उद्योग नै प्रभावित भएको अवस्था आइपरेको छ । एजेन्सी

यसमा तपाइको मत

अन्य समाचार