अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका उपाध्यक्ष जितबहादुर श्रेष्ठले काठमाडौँको चक्रपथ र वीर अस्पतालमा काम गर्दा मृत्य भएका मजदुरप्रति ओली सरकारले लापरवाही गरेको आरोप लगाएको छ । उनले ठेकेदारहरूको लापरबाहीका कारण दुर्घटनामा परी घाइते तथा निधन भएका निर्माण मजदुरप्रति रोजगारदाताहरूले देखाएको गैरजिम्मेवार शैली र सरकारी निरीहताप्रति सङ्गठनले खेद प्रकट गरेका छन् ।
केही दिनअघि लिफ्ट दुर्घटनामा परी सख्त घाइते भएका निर्माण मजदुर नवीनको उपचारका क्रममा मृत्यु भएको थियो । सोही स्थानमा कार्यरत अन्य दुईजना मजदसर पनि गम्भीर घाइते छन् । अघिल्लो महिना महाराजगन्जस्थित घर निर्माणका क्रममा खकेन्द्र राईकोको पनि दुर्घटनामा मृत्यु भएको थियो । विदेशमा पनि जोखिमपूर्ण निर्माण काममा लागेका मजदुरहरू यसरी नै काठका बाकसमा नेपाल भित्रिने गरेको सन्दर्भ उठाउँदै सङ्गठनले कामदारहरू घाइते बन्ने, अङ्गभङ्ग हुने तथा मर्ने क्रम कम नरहेको उल्लेख गरेको छ ।
त्यस्तै सङ्गठनले सुन्तली कार्पेटमा कार्यरत गलैँचा मजदुरहरूलाई सङ्गठित गरिएको जनाएको छ । त्यसैगरी प्रमिथस कार्पेटमा देवमान जिम्बाको अध्यक्षतामा १० सदस्यीय एकाइ गठन भएको छ । गौरीशङ्कर गलैँचामा पनि भीम राईको अध्यक्षतामा १२ सदस्यीय एकाइ समिति निर्माण भएको समाचार छ । थलीस्थित सेङ्चेन कार्पेटमा पेम्बा लामाको अध्यक्षतामा १० सदस्यीय एकाइ निर्माण भएको र जित कार्पेटमा सागर सुवेदीको अध्यक्षतामा ७ सदस्यीय एकाइ बनेको अभियानकर्मीले जनाएका छन् ।
काठमाडौँका गोकर्णेश्वर र कागेश्वरीमा विभिन्न ट्रेड युनियनहरूबाट विद्रोह गरी मजदुरहरू पुनर्गठनमा आएको अभियन्ताहरूले जनाएका छन् । यसक्रममा ४ वटा समिति निर्माण भएको र ६ वटा समिति पुनर्गठन भएको जनाइएको छ । अनेक्राट्रेयु काठमाडौँ जिल्ला महासङ्घले ध्यानाकर्षणस्वरूप जारी गरेको विज्ञप्तिमा जिल्ला महाङ्घ मजदुरहरूको हकअधिकारको पूर्ण ग्यारेन्टी गर्न क्रियाशील रहेको जनाइएको छ । मजदुरहरूको पारिश्रमिक र अन्य सेवासुविधाका सम्बन्धमा भएका सम्पूर्ण सरकारी निर्णय कार्यान्वयन गर्नका लागि विज्ञप्तिमार्फत सचेत गराइएको छ ।




