कम्युनिस्टको स्थायी सरकारले राज्ययन्त्रभित्र भइरहेका बदमासी र भ्रष्टाचारको बारेमा बनाइएको पशुपति शर्माको गीतमाथी प्रतिबन्ध लगायो । युटुबबाटै हटाउने र त्यसको मुलमर्म नै बदल्नुपर्ने गरी उनलाई दबाब पनि दिइयो । शर्माले युटुबाट गीत हटाए तर डाउनलाड गरिएको सोही गीतले अहिले सामाजिक सञ्जाल भरिएको छ ।
बललाई जति दबाब दिया उति उफ्रन्छ भने झैं प्रतिबन्ध लगाउने गरी तयारी र धम्की आइरहँदा त्यही गीत झन भाइरल भएर आयो । शर्माले गीतमा जे जति भनेकाछन्, ती सबै नेपालमा भइरहेकै घटनाहरु हुन् । सरकारका निकटबाट जति पनि काण्डहरु भएका छन् र अुसनधानगरी दोषीलाई कारवाही गर्नुपर्नेमा घटनाहरु सामसुम पारिएका छन् । तिनैलाई लिपीवद्ध गरेर शर्माले गीत बनाएका हुन् । उनको दोष यत्ति हो ।
यस्ता कुराको विरोध प्रतिपक्षले सदनमा पनि गरेकै छ । सडकमा भएका दलहरुले पनि गरिरहेकै छन् । उनीहरुलाई बोल्नमा कुनै प्रतिबन्ध नलगाउने सरकारले कलाकारको गीतलाई चाहीँ किन प्रतिबन्ध लगाएको ? प्रश्न गम्भीर छ । नेपाली समाजमा एउटा उखान छ, ‘दाजुसित नसकेपछि भाउजुसित’ । सायद सरकारले राजनीतिक पार्टीमाथी प्रतिबन्ध लगाउन नसकेर निरीह कलाकारमाथी बल देखाएको हो ।
उसो भए यो राज्यसत्ताकै विरुद्ध अर्धभूमिगतशैलीमा जाइलागेको विप्लव नेकपामाथी किन पुरै प्रतिबन्ध लगाएको त ? किन की उसले पनि सरकारको छाला त काढेकै छ त । स्वयम विप्लवले लेखेका राज्य विरोधी (जनवादी) गीतहरु जनताका घरघरमा बजिरहेकै छन् त । भ्रष्ट हाकिम र दालालमाथी उनले जनकारवाही जारी राखेकै छन् त । उसो भए उनलाई के गर्छौ त बहुमतको सरकार ? यद्यपी विप्लव पार्टी निगरानी र गिरफ्तारी त जारी नै छ ।
अनी पूर्वतिरका ती रमेश प्रसाँईं नामका युवा जो सरकारी गलत काम अनी घुसखोरी, तस्करी र भ्रष्टाचारी प्रवृतिको भण्डाफोर गरिरहेकै छन् । उनलाई बोल्न चाहीँ कहिलेदेखि रोक्ने नी ? समाजमा भइरहेका बदमासीहरुको उनले जुनकुराको उछितो काढ्छन, त्यो पक्कैपनि राम्रो होइन होला । अनि उसो भए उनको मुखमा चुकुल कहिलेदेखि लगाउने त बहुमतको सरकार ?अनि उनको वाक कलामाथि प्रतिबन्ध लगाउँदा आइपर्ने समस्याप्रति पनि केही अड्कल पनि छ की ?




