गोर्खा सैनिकको सांगीतिक कार्यक्रमको उद्घाटन मोहन वैद्यले गर्ने

ब्रिटिस गोर्खा सैनिकहरुले भोग्नु परेको दुःख, परिवारीक पीडा, ब्रिटिसले नेपाली गोरखा सैनिकमाथि गरेको विभेद र असमानताहरु झल्किने खालको वृत्तचित्र समेत प्रस्तुत गरिने छ

संकल्पन्यूज डेस्क

रुपन्देही । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनले प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा गर्न लागेको वैचारिक साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष पद्मसुन्दर लिम्बुले बुटवलको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताएका हुन । उनले सानदार रुपमा कार्यक्रम सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष लिम्बुका अनुसार उक्त कार्यक्रम राष्ट्रिय स्वाधिनता, विभेद र असमानताका विरुद्धको आन्दोलनको महत्वपूर्ण कडी हो । उनले उक्त कार्यक्रमलाई देशव्यपी रुपमा सञ्चालन गर्ने बताए । ‘स्वाभिमानी गौरवशाली वीर गोर्खालीको सम्मान ! विभेद र असमानता विरुद्ध विगेसोको आन्दोलन !!’ भन्ने मुल नाराका साथ देशव्यापी अभियानको क्रममा भोलि विगेसोले बुटवलमा उक्त कार्यक्रम गर्ने भएको छ ।

बुटवलको सुख्खानगरस्थित अम्रपानी कटेज एण्ड रेष्टुरेन्टको हलमा आयोजित उक्त वैचारिक साँस्कृतिक कार्यक्रमको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले गर्ने छन । कार्यक्रमको औपचारिक उद्घाटन भोली शुक्रबार ठिक २ बजे हुने छ ।

कार्यक्रमका लागि विशिष्ट अतिथि, संगठनका सदस्य, सल्लाहकार, सहयोगी, कलाकार, पत्रकार लगायतको टिम समेत बुटवल पुगिसकेको छ । त्यस्तै महासचिव किरण भने भोलि बिहान मात्र कार्यक्रम स्थलमा जानेछन् ।

कार्यक्रममा ब्रिटिस गोर्खा सैनिकहरुले भोग्नु परेको दुःख, परिवारीक पीडा, ब्रिटिसले नेपाली गोरखा सैनिकमाथि गरेको विभेद र असमानताहरु झल्किने खालको वृत्तचित्र समेत प्रस्तुत गरिने छ । त्यस्तै राष्ट्रिय भावनाले ओतप्रोत हुने खालका विभिन्न साँस्कृतिक प्रस्तुतिहरु समेत कार्यक्रमको बिचबिचमा राखिने बताइएको छ ।

कार्यक्रममा दिपक लिम्बु, सौगात सायर, जीवन शर्मा, मनु नेम्वाङ लगायतका कलाकारहरुको प्रस्तुति रहने बताइएको छ । कार्यक्रमको संयोजक समेत रहेकी कलाकार मनु नेम्वाङले वैचारिक र साँस्कृतिक प्रस्तुतिहरुलाई शिलशिलाबद्ध रुपमा प्रस्तुत गरिने बताएकी छन ।

यसअघि काठमाडौं र पोखरामा उक्त कार्यक्रम सम्पन्न भैसकेको छ भने आउँदो १८ गते धरानमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरु, विद्यार्थी, युवा, पत्रकार, सामाजिक,बौद्धिक व्यक्तित्व र ब्रिटिस गोर्खा सैनिक तथा उनका परिवारजनको सहभागि हुने आयोजले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार