आज चैत कृष्ण औंसी । काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । सरकारले जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जात्राको अवसरमा नेपाली सेनाले दिउँसो २ बजेपछि काठमाडौंको टुँडिखेलमा बिशेष कार्यक्रम गर्दैछ ।
घोडेजात्रामा अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम लगायतको प्रदर्शन हुने सैनिक निर्देशनालयले जनाएको छ ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि त्यसको अत्याचारबाट मुक्ति पाउन घोडाको टापले कुल्चिने परम्पराले घोडे जात्राको रुप लिएको जनविश्वास छ ।
यसै कारण प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापा राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरको पाटनमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।




