विराटनगर । प्रहरीले मोरङमा ३०० बढी सुकुम्बासीका टहरा हटाएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा सरकारी जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका टहरा प्रहरीले हटाएको जनाएको छ ।
स्थानीय मावा खोलाको पश्चिम किनारमा रहेको बाँधडाँडा नर्सरी क्षेत्रमा अनाधिकृत रुपले निर्माण गरिएको ३ सय घर टहरा शुक्रबार पूर्णरुपमा हटाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घर टहरा निर्माण गरी बसोबास गर्दै आइरहेका मानिसहरुलाई त्यो ठाउँमा आउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।
टहरा हटाउने काममा लागि जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट प्रहरी टोली परिचालन गरिएको जानकारी दिदैं श्रेष्ठले भने,‘‘सार्वजनिक जग्गा कब्जा गर्ने हिसाबले टहरा निर्माण भएकोले त्यसलाई हटाइएको हो ।’’
उनले प्रहरीले सरकारी सम्पतिमा जथाभावी कब्जा गर्न नदिने बताए । यसबाट पीडितहरुमा पर्न गएको समस्या बारे भने प्रतिकृया आउन बाँकी छ ।




