काठमान्डौ । कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले सरकारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया अभियान सुरु गरेको छ ।
बालुवाटारको सरकारी जग्गा छोरा नवीनको नाममा ल्याउँदा विष्णु पौडेल ठगिएको व्यंग्य गर्दै नेविसंघ काभ्रेले शनिबार एक रुपैंया सहयोग अभियान गरेको हो । ‘बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपुर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान सुरु गरेको हो ।
शनिबार ६ सय ७३ रुपैंया संकलन भएको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए । नेविसंघ काभ्रे सभापति निर्पेश बादेको नेतृत्वमा चारदोबाटो बजारमा एक रुपैंयाका दरले बटुवासँग उक्त रकम संकलन गरिएको हो ।
संकलित रकम पौडेललाई क्षतिपुर्ति दिन नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउँदा पौडेल ठगिएको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताएपछि नेविसंघले क्षतिपुर्ति दिन एक रुपैंया अभियान चलाएको हो ।
जग्गा नक्कली परेको र महासचिव पौडेल ठगिएको प्रवक्ता बाँस्कोटाले बताएका थिए । महासचिव पौडेलले सरकारी जग्गा दालहरुलाई बिक्री गर्नको लागि सेटिङ मिलाए वापत ८ आना जग्गा मात्र ५ लाखमा पाएको बताइएको छ ।




