पेरिस । पृथ्वीको तापक्रम ह्वात्तै बढेको छ । यसले पृथ्वी संकटमा छ भन्ने देखाउँछ । वन बिनास हुँदैजानु, बिकसित भनिएका देशहरुमा वातावरण बिगार्नेखालका ग्याँस सहितका फ्याक्ट्रीहरु बढ्दै जानु र तिनले खराव ग्याँस उत्पादन गर्नु आदी कारणले पृथ्वी तात्दै गएको वैज्ञानिकहरुको भनाइ छ ।
यसैबीच फ्रान्समा आज पहिलो पटक ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको त्यहाँको मौसम विज्ञान सम्बन्धी कार्यालय मेटेओ–फ्रान्सले शुक्रबार जनाएको छ । जलवायु परिवर्तनसँगै विश्वभर देखिएको तापक्रम वृद्धिको समस्या देखिनेक्रम जारी रहिरहँदा फ्रान्समा पनि यसको प्रभाव देखिएको मौसम विज्ञान विज्ञहरूले बताएका छन् ।
उनीहरूले लामो समयसम्म बर्षा नहुनु र जलवायु परिवर्तनका कारण मौसममा देखिएको असन्तुलनका कारण तापक्रमवृद्धि भएको बताएका छन । मेटेओ–फ्रान्सका अनुसार चिसोको प्रयायका रूपमा विश्वले चिन्ने यूरोपेली मुलुक फ्रान्सको दक्षिणी गार्डक्षेत्रको भिल्लेभिएल्ले गाउँमा शुक्रबार अहिलेसम्मकै उच्च तापक्रम मापन भएको छ ।
भिल्लेभिएल्ले क्षेत्रमा शुक्रबारको तापक्रम ४५.१ डिग्री सेल्सियस कायम भएको मेटेओ फ्रान्सले बताएको छ । यसभन्दा पहिले सन् २००३ मा अत्यधिक तापक्रम वृद्धि भै ४४.१ डिग्री सेल्सियस मापन भएको थियो ।




