पोखरा । २०७६,५,५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्वस्थ्य र अव्यवहारिक कुरामा पुरुषसँग तुलना गरेर महिला सशक्तीकरण नहुने बताएका छन् । नारी जागरण अभियानले तीजका नाममा हुने विकृतिलाई निरुत्साहित गर्दै तीजको मौलिकता जोगाउने सन्दर्भमा भेटमा उनले भने “पुरुषले रक्सी खाए हामीले खाँदा के भयो ?,
पुरुषले चुरोट खाए हामीले खान के भो ? भन्दै तर्क गरेर महिला सशक्तीकरण हुँदैन ।” उनले तीजको नाममा हुने विकृति रोक्न प्रदेशसभामा नै जानकारी गराएर प्रहरी प्रशासनमार्फत पहल गरिने बताए ।
“हामीले प्रदेशसभामा जानकारी गराउँछौ भड्किलो भोज भतेरमा किन जानु र्पयो ?, तीज विशेष महत्वका कार्यक्रमलाई प्रवचन तथा गोष्ठी बनाउन सकिन्छ ।” तीजको महत्व र गरिमा हुने कार्यक्रमलाई आफूले महत्व दिने उनको भनाइ थियो ।
स्वस्थ्य र सामाजिक न्याय स्थापित समाजले सबैको भलो गर्ने भएकाले कुनै पनि पर्व विशेषको बहानामा गलत संस्कारलाई स्थापित गर्न नहुने उनले बताए । तीजको नाममा महीना दिन अघिदेखि हुने भड्किलो गतिविधिलाई निरुत्साहित गरेर तीजको ऐतिहासिक महत्व र सांस्कृतिक सद्भाव कायम गर्न नारी जागरण अभियानले विशेष कार्यक्रम तयारी गरिरहेको अभियानका संयोजक अञ्जु केसीले जानकारी दिए । उक्त कार्यक्रममा नारी जागरण अभियानका सदस्य एवं नागरिक समाजका व्यक्तिको उपस्थिति रहेको थियो ।




